कांग्रेस र आदिवासी जनजाति महासंघ रातो मत्स्येन्द्रनाथको रथ यात्राको पक्षमा

कांग्रेस र आदिवासी जनजाति महासंघ रातो मत्स्येन्द्रनाथको रथ यात्राको पक्षमा

विराटनगर, १९ भदौ । कोरोना भाइरसले आक्रान्त पारिरहेका बेला प्रुमख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेपाल आदिवासी जनजाति महासंघ भने ललितपुरमा निकालिने रातो मत्स्येन्द्रनाथको रथ यात्राको पक्षमा देखिएका छन् ।

कोरोना एकअर्कामा चाँडो सर्ने भएका कारण भीडभाड गर्न हुँदैन । तर कांग्रेस र महासंघ भने ठूलो भीडभाड र हुलसहित निकालिने यात्राको पक्षमा उभिएका हुन् । कांग्रेसले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दूरी कायम गरेर रथ यात्रा गर्न दिनु पर्ने पक्षमा कांग्रेस देखिएको छ ।

उसले रथयात्रालाई निरन्तरता दिन आग्रह गरेको छ । कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई वार्ता एवं सम्वादको माध्यमबाट सहमतिकै आधारमा निकास खोज्न नेपाली कांग्रेस संसदीय दल हार्दिक अपिल गर्दछ ।’

पुल्चोकमा रथ तान्ने विषयलाई लिएर बिहीबार स्थानीय र प्रहरीबीच भएको झडपको घटनाप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ । परम्परागत जात्रा सन्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय निकाय र सम्बन्धित पक्षबीच समन्वय नहुँदा दुःखद परिस्थिति सिर्जना भएको कांग्रेसको ठहर छ ।

त्यस्तै रथ तान्न खोज्नेलाई प्रहरीले दमन गरेर संस्कृतिमाथि हस्तक्षेप गरेको आरोप आदिवासी जनजाति महासंघले लगाएको छ । महासंघले यस विषयमा सबै पक्षको समन्वयमा निकास खोजिनु पर्ने माग पनि रोखेको छ ।

पुलचोकको घटनालाई राज्यबाट भएको ‘संस्कृतिविरोधी काम’ भनेर महासंघले विरोध जनाएको छ । महासंघका अध्यक्ष जगतबहादुर बरामले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ भदौ १८ गते ललितपुरको पुल्चोक क्षेत्रमा राज्यबाट भएको अपरिपक्व, गैरजिम्मेवार, संस्कृतिविरोधी तथा सुरक्षाकर्मीबाट भएको अनावश्यक बल प्रयोगको घटनाप्रति नेपालका सम्पूर्ण आदिवासीहरूको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

कोभिड–१९ ले निम्त्याएको महामारीको अवस्थामा जात्रा सञ्चालन गर्न गराउन निकासका लागि अनुरोध गर्दा पनि सरकारले लामो समयदेखि गैरजिम्मेवारीपूर्वक अनिर्णित अवस्थामा राखेको र यात्रामा सहभागी हुनेहरुलाई दमन गरिएको आरोप महासंघले लगाएको छ ।

वर्षौंदेखि चलिआएको रातो मत्स्येन्द्रनाथको रथजात्रालाई निरन्तरता दिनका लागि ठोस निकास निकाल्नुको सट्टा स्वःस्फूर्त रूपमा रथजात्रा सञ्चालन गर्न आएकाहरुमाथि बल प्रयोग गर्ने कार्यले परिस्थिति झन् गम्भीर हुनसक्ने महासंघको ठहर छ । साथै, झडपमा घाइते भएकाहरूको उपचारको व्यवस्था र गिरफ्तार भएकाहरूलाई विना शर्त रिहा गर्न पनि नेपाल आदिवासी जनजाति महासंघले माग गरेको छ ।

रथ तान्ने विषयमा विवाद हुँदा बिहीबार स्थानीय र प्रहरीबीच झडप हुँदा स्थिति दिनभर तनावग्रस्त भएको थियो ।