Rumpum

Rumpum Advertisement

व्यापारीसँग पैसा असुल्ने गिरोहलाई पेस्तोल बेच्ने पक्राउ

व्यापारीसँग पैसा असुल्ने गिरोहलाई पेस्तोल बेच्ने पक्राउ

विराटनगर, १९ भदौ । व्यापारीलाई ज्यान मार्ने धम्की दिदै लाखौं रुपैयाँ असुली गर्ने समूहका मुख्य नाइकेलाई पेस्तोल र गोली उपलब्ध गराउने एक जना पक्राउ परेका छन् ।

प्रहरीले विराटनगर महानगरपालिका – १२ का २६ वर्षीय विकास महतोलाई पक्राउ गरेको हो । महतोले १ लाख रूपैयाँमा अटोमेटिकल पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोली उपलब्ध गराएको प्रहरीले जनाएको छ ।

महतोले संगठित रूपमा आपराधिक समूह स्थापना गरी विराटनगरलाई आपराधिक कार्यको स्थल बनाई व्यापारीसित रकम असुल्ने गिरोहका मुख्य नाइके मोरङ, कटहरी–२ आर्दशनगरका २७ वर्षिय अभिषेक रायलाई पेस्तोल र गोली उपलब्ध गराएको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

व्यापारीसँग पैसा असुल्ने गिरोहलाई पेस्तोल बेच्ने विकास महतो ।

पक्राउ परेका महतोलाई अदालतमा बिहीबार म्याद थप गरि अनुसन्धान सुरू गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । गुट्खा, चामल, तेलको डिलर संचालन गर्ने विराटनगरका व्यापारीलाई २५ असारमा ज्यान मार्ने धम्की दिएर १० लाख रुपैयाँ मागेको मध्ये ती व्यापारीले दुई पटक गरि पाँच लाख रुपैयाँ दिएका थिए ।
व्यापारीबाट रकम असुलेपछि गिरोहका मुख्य नाइके अभिषेकले पेस्तोल उपलब्ध गराउने महतोलाई १ लाख रुपैयाँ दिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।

पक्राउ परेका समूहका मुख्य नाइके अभिषेशले मगाएको पेस्तोल र गोली विराटनगरको कोशीप्रोजेक्टबाट रिसिभ गरेको प्रहरीले जनाएको छ । ‘६ राउण्ड गोली खरिद गरेर ल्याएको मध्ये तीन राउण्ड गोली व्यापारीले सुरुमा रकम नदिएपछि मनोवैज्ञानिक रूपमा तर्साउने उद्देश्यले विष्फोट गराएको देखिन्छ,’ अनुसन्धानमा संलग्न प्रहरीका अधिकृतले भने, ‘गिरोहले पैसा मागेका व्यापारीको घर आसपास र कम्पाउण्डमा उनीहरुलाई त्रसित बनाउने, गोली पड्काउने गरेको पनि खुलेको छ ।’

विराटनगरका दुई जना व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै रकम असुल्ने समूहका मुख्य गिरोहसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले मोरङको कटहरी गाउँपालिका – २ आर्दशनगरका २६ वर्षिय किसन साह, सोही ठाउँका २८ वर्षिय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षिय अभिषेक राय, सप्तरी बोदेबसाईन नगरपालिका ८ काचन बस्ने २७ वर्षिय नन्दु भन्ने नन्दकिशोर साह र भारतको बिहार राज्य सितामणी जिल्ला घर भइ विराटनगर जलजला मोडस्थित चाइना बजारमा कपडा पसलमा काम गर्ने २७ वर्षिय राजु साहलाई पक्राउ गरेको हो । आजको ब्लाष्ट टाइम्स दैनिकमा समाचार छ