ललितपुरमा आज बिहानदेखि कर्फ्यू, उल्लंघन गर्नेलाई गोली हान्‍न आदेश

विराटनगर, १९ भदौ । पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा अघिल्लो दिन भएको विवाद र झडपका कारण ललितपुरको चक्रपथ क्षेत्रभित्र आज (शुक्रबार) बिहानैदेखि कर्फ्यू आदेश जारी गरिएको छ ।

उल्लंघन गर्नेलाई गोली हान्ने आदेशसहित जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो।

महानगरीय प्रहरी परिसरका प्रमुख टेक प्रसाद राईले निषेधाज्ञाबीच स्थानीय युवाहरुले रातो मच्छेन्द्रनाथको रथ तानेपछि उत्पन्न विवादले उग्ररुप लिएका कारण कर्फ्यू आदेश जारी गर्नु परेको बताए । पुलचोकमा जम्मा भएका स्थानीय युवाहरुले रथ तान्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए।

मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा तोडेर रथ तानेपछि स्थानीय प्रशासनले रोक्न खोज्दा विवादले उग्ररुप लिएको थियो । असोज २ देखि मलमास सुरु हुँदैछ। कोरोना महामारीका कारण निर्धारित तिथिमा हुन नसकेको रथ जबरजस्ती तान्दै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा मिचेका हुन्।

लकडाउन खुकुलो भएपनि उपत्यकामा संक्रमितहरुको संख्या बढ्दै गएपछि गुठी संस्थान ललितपुरले सूचना जारी गर्दै रथारोहण स्थगित गरेको थियो। वैशाख कृष्ण पक्षको प्रतिपदाबाट सुरु हुने जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ। रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ।

Loading...