विराटनगरका अस्पतालले गेटबाटै फर्काए, धरान पुगेपछि गर्भवती महिलाको मृत्यु

विराटनगर, १८ भदौ । विराटनगरका अस्पतालले उपचार गर्न नमान्दा मोरङ कानेपोखरी गाउँपालिका-५ की २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ ।

बुधबार राति विराटनगरका अस्पतालले फर्काएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएकी सात महिनाकी गर्भवती महिला २३ वर्षीया सविना थापा (दर्जी)को मृत्यु भएको हो ।

बुधबार राति एम्बुलेन्समा ल्याएका परिवारका सदस्यले बिहान साढे २ बजेसम्म विराटनगरका अस्पताल डुलाएका थिए । तर कुनै अस्पतालले भर्ना गर्न मानेनन् ।

मंगलबार राति १० बजेतिर शौचालयमा उनी लडेकी थिइन् । तत्काल अवस्था सामान्य रहे पनि भोलिपल्ट स्वास्थ्य गम्भीर बन्दै गएपछि परिवारका सदस्यले उनलाई बुधबार राति उपचारका लागि विराटनगर ल्याएका थिए ।

परिवारका सदस्यले नोबेल, विराट शिक्षण, विराट नर्सिङहोम, ग्रीनक्रस, कोशी अस्पताल, सुरक्षा अस्पताल पुर्‍याएका थिए । तर राति साढे २ बजेसम्म उनलाई भर्ना गर्न कुनै अस्पताल तयार भएनन् ।

एम्बुलेन्समा राखेर रातभर विभिन्न अस्पताल पुर्‍याएपनि कुनै अस्पतालले उपचार गर्न नमानेको सविनाकी आमाजू दुर्गा सुन्दासले बताइन् । ‘अस्पतालले आईसीयू र भेन्टिलेटर नभएको बहाना बनाए,’ उनले भनिन्, ‘कुनैले कोरोना त्रासका कारण नयाँ बिरामी भर्ना गर्दैनौं भन्ने जवाफ दिए ।’

कोरोनाका बेला बिरामी ल्याएको भन्दै कोशी अस्पतालका नर्सहरूले भने हप्कीदप्की गरेको उनको गुनासो छ ।

विराटनगरका अस्पतालहरूमा उपचार नपाएकी सविनालाई बिहीबार बिहान करिब २ः३० बजेतिर एम्बुलेन्समा राखेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जानकारी दुर्गाले दिइन् ।

प्रतिष्ठानले आकस्मिक कक्षमा सामान्य उपचारपछि प्रसूति कक्षमा रेफर गरेको थियो । तर प्रसूति कक्षमा पुर्‍याएर उपचार थालेको आधा घण्टा बित्न नपाउँदै सविनाको मृत्यु भएको हो ।

सविनाका बुवा चन्द्र थापाका अनुसार उपचार पाउने आशामा अस्पताल घुमाउँदा घुमाउँदै मृत्यु भएको हो ।

सविनाका श्रीमान् भरत दर्जीले पनि उपचारका लागि लागिएका अस्पतालले अस्वीकार गर्दा सात महिनाकी गर्भवती श्रीमती गुमाउनु परेको गुनासो गरे ।

लडेर घाइते भएकी श्रीमतीलाई कोरोनाको बहानामा उपचार गर्न नमान्नु अस्पतालको गम्भीर लापरवाही भएको उनको गुनासो छ ।

नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले आईसीयू खाली नभएकाले नयाँ बिरामी भर्ना गरेर उपचार गर्न सक्ने अवस्था नभएको बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मंगलबार मात्रै सबै अस्पतालका सञ्चालक र चिकित्सकलाई छलफलमा बोलाएर उपचार नपाएर बिरामीको मृत्यु भएमा कारवाही अघि बढाउने चेतावनी दिएका थिए ।

तर त्यसकै पर्सिपल्ट विभिन्न अस्पताल घुमाउँदा-घुमाउँदै उपचार नपाएर घाइते अवस्थाकी गर्भवतीको ज्यान गएको हो ।

लडेका कारण मृत्यु भएकाले सविनाको शव पोस्टमार्टमका लागि बिहीबार साँझ उर्लाबारीको मंगलबारे अस्पताल लगिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीले बताए ।

पाँच वर्षअघि अन्तर्जातीय प्रेम विवाह गरेका सविना र भरतको पहिलो सन्तान चार वर्षकी छोरी छिन् । सविनाको माइती झापाको सुरुंगा हो ।

Loading...