संयुक्त राष्ट्रसंघले भन्यो : कोरोनाले चार करोड ७० लाख महिलालाई अति गरिबीतर्फ धकेल्छ

संयुक्त राष्ट्रसंघ, १८ भदौ । कोरोना भाइरसका कारण आगामी बर्ष चार करोड सात लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक विवरणमा सन् २०२१ मा यस्तो असर देखिने उल्लेख गरिएको छ ।

कोरोनाभाइरसको महामारीले पुरुष र महिलाबीचको खाडललाई पनि नाटकीय हिसाबले वृद्धि गर्ने देखिएको प्रतिवेदनमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघको युएन वुमन र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले महिलाहरुको गरिबीको अवस्था अत्यधिक बढ्ने चिन्ता व्यक्त गरेको छ ।

सन् २०१९ देखि सन् २०२१ सम्ममा महिलाहरूको गरिबी बृद्धिदर २.७ प्रतिशतसम्म हुने अनुमानहरू गरिएको छ ।

राष्ट्रसंघीय निकायहरूले कोरोना भाइरसले उत्पन्न गरेको महामारीबाट नौ करोड ६० लाख मानिस गरिबीको रेखामुनि पर्ने प्रक्षेपण गरेका छन् । तीमध्ये महिलाको संख्या चार करोड ७० लाख हुने अनुमान गरिएको हो ।

सर्वेक्षणकर्ता तथा अध्ययनकर्ताहरूले सन् २०३० सम्ममा मात्रै कारोना भाइरसको सङ्क्रमण सुरु हुनुभन्दा अगाडिको अवस्थामा पुग्न सकिने विश्लेषण गरेका छन् । रासस

Loading...