Rumpum

Rumpum Advertisement

रोनाल्डोले क्रोएशिया र स्वीडेनसँगको खेल गुमाउन सक्ने

रोनाल्डोले क्रोएशिया र स्वीडेनसँगको खेल गुमाउन सक्ने

एजेन्सी, १८ भदौ । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले यूईएफए नेशन्स लिगका सुरुआती दुई खेल गुमाउन सक्ने भएका छन् । नेशन्स लिगको साविक विजेता पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डोले क्रोएशिया र स्वीडेनसँगको खेल गुमाउने सम्भावना रहेको बताइएको छ ।

युभेन्टसका स्टार रोनाल्डोले खुट्टाको चोटका कारण नेशन्स लिगका सुरुआती चरणका दुई खेल गुमाउन सक्ने इटालियन मिडिया ‘डी मार्जियो’ले जनाएको छ । दाहिने खुट्टाको समस्याका कारण उनले प्रशिक्षणमा समेत सहभागिता जनाएका छैनन् ।

खबरका अनुसार उनी आजको अभ्यासमा पनि उपस्थित भएनन् । पोर्चुगल फुटबल महासंघका अनुसार ३५ वर्षीय रोनाल्डोले खुट्टाको उपचार गराइरहेका छन् । तथापि, उनी चोटबाट मुक्त हुन प्रयासरत रहेको महासंघले जनाएको छ ।

पोर्चुगलले शनिबार क्रोएशियासँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । यस्तै मंगलबार स्वीडेनसँग उसैको घरेलु मैदानमा खेल्दैछ ।