स्तन क्यान्सरका कोषलाई मौरीको विषले मार्न सक्छ : अध्ययन

विराटनगर, १८ भदौ । मौरीको विषले स्तन क्यान्सरका कोषहरूलाई मार्न सक्ने पत्ता लागेको छ ।

नेचर प्रिसिजन अन्कोलजी जर्नलमा प्रकाशित अध्ययनमा अस्ट्रेलियाका वैज्ञानिकहरूले प्रयोगशालामा गरिएका परीक्षणमा मौरीको विषले स्तन क्यान्सरका कोषहरूलाई मारेको उल्लेख गरेका हुन् ।

पश्चिम अस्ट्रेलियाको ह्यारी पेर्किन्स इन्स्टिट्यूट अफ मेडिकल रिसर्चको अध्ययनमा ३०० भन्दा बढी मौरीको विष परीक्षण गरिएको थियो ।

उपचार गर्न कठिन मानिने ट्रिपल-नेगटिभ र एईआर-२ नामक दुई किसिमका क्यान्सरविरुद्ध मौरीको विष र त्यसमा पाइने मेलिट्टिन नामक यौगिक प्रयोग गरिएको थियो ।

अध्ययनकर्ताहरूले मेलिट्टिनले आफैँ क्यान्सर कोषको वृद्धिलाई बढ्न रोक्ने वा निष्क्रिय पार्ने पत्ता लगाएका छन् ।

अध्ययनको नेतृत्व गरेकी सायरा डफीले मह बनाउने मौरीको विषबाट निकालिएको यौगिक प्रभावकारी भएको बताएकी छन् ।

उनका अनुसार विषको एउटा निश्चित मात्राले एक घण्टाभित्र क्यान्सरको कोषलाई मारेको र अन्य कोषलाई न्यूनतम हानि पुर्‍याएको छ । तर, धेरै मात्रामा दिँदा विषको असर बढेको देखिएको थियो ।

पुराना अध्ययनहरूले समेत अन्य प्रकारका क्यान्सरविरुद्ध पनि मौरीको विष उपयोगी देखाएको थियो । मेलिट्टिन मौरीको विषमा प्राकृतिक रूपमा पाइने भए पनि यसलाई कृत्रिम तरिकाले निर्माण गर्न पनि सकिने बताइन्छ ।

मौरीको विष क्यान्सरको उपचारको औषधि बन्न सक्छ कि सक्दैन भन्ने थाहा पाउन थप अध्ययन आवश्यक पर्ने धेरै वैज्ञानिकहरूको भनाइ छ ।

यो प्रारम्भिक कदम भएको र यो खोजबाट औषधिका रूपमा प्रयोग हुने अवस्थासँग पुग्न लामो यात्रा गर्नुपर्ने सहप्राध्यापक एलेक्स स्वार्ब्रिक बताउँछिन् ।

संसारभरि महिलाहरूमा स्तन क्यान्सर सबैभन्दा धेरै हुने क्यान्सर हो । स्तन क्यान्सर भएकामध्ये १० देखि १५ प्रतिशत महिलालाई ट्रिपल-नेगटिभ हुने र त्यसको उपचारमा हाल शल्यक्रिया, रेडिओथेरपी र कीमोथेरपी प्रयोग गरिँदै आएको छ ।

Loading...