विराटनगरमा एक हजार बेडको आइसोलेसन केन्द्र सञ्चालन गरिने

विराटनगरमा एक हजार बेडको आइसोलेसन केन्द्र सञ्चालन गरिने

विराटनगर, १८ भदौ । प्रदेश १ सरकारले विराटनगरमा एक हजार बेड क्षमताकाे आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रदेशस्तरीय सीसीएमसीको भर्चुअल बैठकले विराटनगरका सम्भावित जोखिम नियन्त्रणका लागि विराटनगरमा कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो ।

बैठकमा मुख्यमन्त्री शेरधन राईले एक हजार बेड क्षमताको थप आइसोलेसन केन्द्र चाँडो निर्माण गर्नका लागि विस्तृत विवरण तयार गर्न निर्देशन दिएका छन् ।

आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई दिइएको छ । आइसोलेसन स्थानीय पालिका, निजी क्षेत्रलगायतसँग समन्वय र साझेदारीमा सञ्चालन हुनेछन् ।

बैठकले प्रदेशभित्र लकडाउन, निषेधाज्ञा, कर्फ्युलाई क्रमशः हटाउँदै जाने, संक्रमण देखिएको स्थान मात्र सिल गरी निर्णय गरेको छ । कोरोनाको चेन ब्रेक गर्ने र कोभिड– १९ नियन्त्रण, रोकथाम र उपचारमा प्रदेश सरकार, स्थानीय तह एवम् स्थानीय प्रशासनसँग समन्वयात्मकरुपमा अगाडि बढ्ने नीति लिएको छ ।

बैठकले भारतबाट स्थलमार्ग हुँदै आउने नेपालीहरुको लागि तोकिएको प्रवेश विन्दुहरुका अतिरिक्त पशुपतिनगर इलाम, रंगेली मोरङ, टांगनडुवा झापा, गौरीगन्ज झापा र भन्टावारी सुनसरीलाई थप प्रवेश विन्दु (नाका) कायम गर्ने निर्णयसमेत गरेको छ ।

भोजपुर नगरपालिका-६ स्थित देउरालीमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा २५ बेडको आइसोलेसन वार्ड सञ्चालन एवं उदयपुरको नेत्र ज्योति संघद्वारा निर्माण गरिएको मदन भण्डारी आँखा अस्पतालमा आइसोलेसन वार्ड स्थापना गर्न उदयपुर अस्पताल, उदयपुरलाई अनुमतिसमेत बैठकले दिएको छ ।

बैठकले कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि विशेष सचेतना अभियान, २०७७ लाई स्वीकृत गर्ने र कार्यान्वयनको जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई प्रदान गर्ने निर्णय गरेको छ । तत्कालका लागि यो अभियान झापा, मोरङ र सुनसरी जिल्लामा लागू हुनेछ ।