छ दिनदेखि बेपत्ता चालकको शव शौचालयमा भेटियो

विराटनगर, १८ भदौ । माेरङमा छ दिनदेखि बेपत्ता भएका एक पुरुषको शव शौचालय भित्र फेला परेको छ ।

कुखुराको चारो (दाना) उत्पादन गर्दै आएको बूढीगंगा गाउँपालिका–३ माेरङमा रहेकाे ओम चाबो बिरो प्लेट फिड इन्डष्ट्रिज प्रा.लि नामक उद्योगको शौचालयभित्र भारतीय नागरिक ४० वर्षीय विनय यादवको शव भेटिएको हो । मृतक पुरुष ट्रक चालक हुन ।

बिहीबार दिउँसो करिब ४ बजे शौचालयभित्र शव फेला परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

खड्काका अनुसार चालक १२ भदौबाट सम्पर्क बिहीन थिए । मृतक उद्योगका लागि भारतबाट ट्रकमा कुखुराको दाना बनाउन प्रयोग गरिने मकै ढुवानी गर्ने चालक हुन् ।

उनी मकै ‘लोड’ गरिएको डब्लुबी ७३ बी ६७६६ नम्बरको ट्रक लिएर ११ भदौमा उद्योगमा आइपुगेका थिए ।

उद्योगबाट लगभग दुई सय मिटर पर कामदारका लागि बनाइएको तीनवटा शौचालयमध्ये बीचको शौचलयभित्र चालकको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भित्रबाट चुक्कुल लगाएर ढोका बन्द गरिएको शौचालयमा शव लडिरहेको अवस्थामा भेटिएको हो ।

घटना शंकास्पद भएकाले अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ । शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगेर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

उद्योगका म्यानेजर सञ्जय अग्रवालले भारतबाट मकै लोड गरेको ट्रक लिएर आएको भोलिपल्टदेखि सम्पर्कविहीन बनेका चालकको शव शौचालयभित्र भेटेपछि प्रहरीलाई जानकारी दिइएको बताए ।

Loading...