‘प्रसाद २’ मा विपिन र नम्रताको जोडी पुनः दोहोरिँदै

विराटनगर, १८ भदौ । ‘प्रसाद २’मा अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ पुनः एकपटक दोहोरिने भएका छन् ।

‘प्रसाद २’ का लागि मुख्य भूमिकामा यी दुईसँग लिखित सम्झौतासमेत भइसकेको फिल्मका निर्देशक सौरभ चौधरीले जानकारी दिएका छन् ।

फिल्मको सिक्वलको लागि निर्देशकको रूपमा चौधरीको प्रवेश भएसँगै कलाकार पनि फेरिने आशंका गरिएको थियो । तर, चौधरीले केही समय अगाडि नै विपिन र नम्रतासँग लिखित सम्झौता भइसकेको बताएका हुन् ।

निश्चलसँग मौखिक सहमति भए पनि निषेधाज्ञाका कारण भेट हुन नपाएका कारण कागजी सम्झौता हुन नसकेको बताइएको छ ।

सुवास थापाको लगानीमा निर्माण हुन लागेको ‘प्रसाद २’ लाई सुशील पौडेलले फिल्मको पटकथा तथा संवाद लेखिरहेका छन् । निर्माता थापाले अनुमति पाउनासाथ चलचित्रको छायांकन सुरु हुने बताएका छन् ।

दुई वर्ष अगाडि निर्माण भएको सफल चलचित्र ‘प्रसाद’मा एक दम्पत्तीको सन्तान नहुँदाको पीडा र उत्पन्न परिस्थितिको उठान गरिएको थियो ।

‘प्रसाद’को प्रिक्वेलको रूपमा निर्माण गरिने ‘प्रसाद २’मा भने उनीहरूबीच कसरी प्रेम अंकुराएको थियो भन्ने देखाइने भएको छ ।

Loading...