कोरोना जितेर गाउँ फर्किएकालाई पुष्पगुच्छाले स्वागत

रुपेन्देही, १८ भदाै । समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कतिपय पालिकामा कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तले फरक व्यवहार गरिएका गुनासा आइरहेका छन् । तर, बुटवलमा भने होम आइसोलेशनमा बसेर निस्किएको परिवारलाई सम्मान गरिएको छ ।

बुटवल उपमहानगरपालिका–१३ झोलुङ्गेपुल, हरियाली पथ निवासी प्रेमनारायण पोखरेलको परिवारलाई उपमहानगर सदस्य विष्णुकुमारी शर्मा र टोल समितिका अध्यक्ष पीताम्बर भण्डारीसहित टोलवासीले आज पुष्पगुच्छा प्रदान गरी कोरोना जितेकामा नगरका तर्फबाट बधाई तथा शुभकामना दिए ।

२९ साउनमा प्रेमनारायणका छोरा लेखनाथ र बुहारी विनितामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनीहरू घरमै आइसोलेशनमा बसेका थिए ।

आइसोलेशनमा रहँदासमेत टोलका अगुवा तथा छिमेकीबाट राम्रो सहयोग पाएको र सबैले स्वास्थ्यलाभको काम गरेकामा पोखरेलले सबैप्रति आभार व्यक्त गरे ।

उपमहानगर सदस्य शर्माले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षाका विधि अवलम्बन गर्ने हो भने कोरोना सङ्क्रमणबाट बच्न सकिने भएकाले थप सतर्क रहन आग्रह गरिन् ।

उनले भनिन्, “सतर्क रहँदारहँदै पनि कोरोना लाग्न सक्छ तर लाग्यो भनेर छिमेकी र आफन्त नै टाढिने हो भने सङ्क्रमितको मनोबल खस्किन्छ । त्यसैले उहाँहरुलाई हौसला बढाउन जरुरी छ । सङ्कमण हुँदा मात्रै होइन निको भइसकेपछि पनि समाजमा घुलमिल हुन गाह्रो नहोस् भन्नाका लागि टोलको यो प्रयास पनि सह्रानीय छ ।”

आइसोलेशनमा रहेका बेला उपमहानगरपालिकाका प्रमुख, उपप्रमुखसहित जनप्रतिनिधि घरमै आएर स्वास्थ्यलाभको कामना गर्दा थप हौसला मिलोको बताउँदै पोखरेल परिवारले उच्च मनोबलका साथ स्वास्थ्यलाभ गर्न सफल भएको अनुभव सुनायो ।

पछिल्लो समय बुटवलका विभिन्न वडामा कोरोना भाइरस सङ्क्रमण बढेसँगै हरियाली पथका दुई परिवारका सदस्यलाई कोरोना पुष्टि भएको थियो ।

पोखरेल परिवारले स्वास्थ्यलाभ गरे पनि अर्को परिवारका सदस्य भने होम आइसोलेशनमै छन् । रासस

Loading...