बेइजिङमा अन्तर्राष्ट्रिय विमान आउन थाले

बेइजिङ, १८ भदौ । कोरोना भाइरसको महामारी सुरुवात भएको देश चीनको राजधानी बेइजिङमा बिहीबारदेखि अन्तर्राष्ट्रिय विमानहरू आउन थालेका छन् ।

बेइजिङमा रहेको मुख्य विमानस्थलमा बिहीबारदेखि सीमित संख्यामा अन्तर्राष्ट्रिय विमानहरू आउन थालेको अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोना भाइरसको महामारी फैलिन थालेपछि गत मार्चदेखि बन्द भएको विमानस्थलमा फेरि अन्तर्देशीय विमान सेवा सुरु भएको हो ।

कोरोना भाइरसको खतरा कम देखिएको निष्कर्ष निकाल्दै अधिकारीहरूले विमान सेवा सुचारु गर्ने निर्णय गरेका हुन् ।

बिहीबार पहिलो दिनको अन्तर्राष्ट्रिय उडानमा कम्बोडिया, ग्रिस, डेनमार्क, थाइल्याण्ड, पाकिस्तान, अस्ट्रिया, क्यानाडा र स्विडेनबाट यात्रु आएका छन् ।

चीनमा आउन लागेकाहरूलाई विमान प्रवेश गर्नुअघि कोरोना भाइरसको सङ्क्रमण नभएको प्रमाण पेस गर्नु पर्ने व्यवस्था पनि गरिएको छ ।

अहिले प्रारम्भिक तथा परीक्षण अवधि भएकाले दैनिक नियमित रूपमा पाँच सयको हाराहारीमा यात्रुहरू आउने व्यवस्था मिलाइएको स्थानीय एक अधिकारीले जानकारी दिए ।

चीनको राजधानी बेइजिङमा गत मार्चको शुरुवातदेखि नै सबै अन्तर्राष्ट्रिय विमान सेवाहरू बन्द गरिएको थियो । रासस

Loading...