विज्नाल्डम भित्र्याउने कोइम्यानको चाहना

एजेन्सी, १८ भदौ । पछिल्लो समय बार्सिलोनाको ध्यान आफ्ना कप्तान लियोनल मेस्सीमाथि छ । क्लब छोड्ने निर्णय लिएका अर्जेन्टिनी फकाउन प्रयासरत रहेको बार्सिलोनाले खेलाडी भित्र्याउने योजना पनि थाति राख्न सकेको छैन ।

बार्सिलोनाले लिभरपुलका मिडफिल्डर जर्जिनियो विज्नाल्डम अनुबन्ध गर्ने योजना बनाएको बताइएको छ । नवनियुक्त प्रशिक्षक रोनाल्डो कोइम्यानले आफ्नो देशका स्टार विज्नाल्डम अनुबन्ध गर्न चाहेको स्पेनिस मिडिया ‘मार्का’ले जनाएको छ ।

डच प्रशिक्षक कोइम्यानले उनले आफ्नो टार्गेटमा राखेको बताइएको छ । आफ्नो टोली ‘छाँटकाँट’ गरिरहेको बार्सिलोनाले हालै क्याप नोउ छाडेका इभान राकिटिकको स्थानमा उनलाई ल्याउन चाहेको बताइएको छ ।

क्रोएशियन स्टार राकिटिक पूर्वक्लब सेभिल्ला फर्किएपछि उनको स्थानमा विज्नाल्डम भित्र्याउने चाहना कोइम्यानको रहेको बताइएको छ । राष्ट्रिय टोलीमा एकसाथ काम गरेका २९ वर्षीय विज्नाल्डम र कोइम्यानबीच सुमधुर सम्बन्ध रहेको बताइन्छ ।

त्यसबाहेक कोइम्यानले लियोनका स्ट्राइकर मेम्फिस डिपेलाई पनि बार्सिलोना ल्याउन चाहेको बताइएको छ । डिपेले पनि कोइम्यानको नेतृत्त्वमा काम गरिसकेका छन् ।

Loading...