सीबीआईले भन्यो : हालसम्म सुशान्तको हत्या भएको कुनै प्रमाण भेटिएन

विराटनगर, १८ भदौ । सीबीआईले हालसम्म अभिनेता सुशान्त सिहं राजपुतको हत्या भएको कुनै प्रमाण नभेटिएको बताएको छ ।

सुशान्तको मृत्यु प्रकरणमा एक सातादेखि छानविन गरिरहेको सीबीआई टोलीका तीन अधिकारीले हत्या भएको कुनै प्रमाण नभेटिएको बताएका हुन् । सुशान्तको निधन भएको एक महिनापछि उनका परिवारले अभिनेत्री रिया चक्रवर्तीविरुद्ध आत्महत्या गर्न बाध्य बनाएको आरोपमा एफआईआर दर्ता गरेका थिए ।

निधन भएको दुई महिनापछि सर्वोच्च अदालतले सुशान्तको आत्महत्या नभई हत्या भएको आशंकामा छानविनको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) लाई दिएको थियो । मुम्बई प्रहरीबाट घटना छानबिनको जिम्मा लिइसकेपछि सीबीआईले अहिलेसम्म जम्मा भएका सबै प्रमाण हेरेर उनको निधनको दृश्यको पुनर्निर्माण पनि गरेका थिए ।

अहिले सीबीआईले आत्महत्या गर्न उक्साएको हो वा होइन भन्ने कोणमा अनुसन्धान केन्द्रित गरिरहेको छ । साथै सीबीआईले शंकामा रहेकी रियासँग अहिलेसम्म ३५ घण्टा सोधपुछ गरिसकेको छ । अभिनेता सुशान्तको १४ जुनमा मृत्यु भएको हो । उनी मुम्बईको बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।

Loading...