Rumpum

Rumpum Advertisement

‘मेस्सीले बार्सिलोना छोडे अरु खेलाडी चम्किन्छन्’

‘मेस्सीले बार्सिलोना छोडे अरु खेलाडी चम्किन्छन्’

एजेन्सी, १८ भदौ । रियल मड्रिडका स्टार लुका मोड्रिकले बार्सिलोनाका कप्तान लियोनल मेस्सीको सरुवाको विषयमा बोलेका छन् । एएफपीसँगको अन्तर्वार्तामा क्रोएशियन स्टार मोड्रिकले अर्जेन्टिनी स्टार मेस्सीले बार्सिलोना छोडेमा अन्य खेलाडीले मौका पाउने बताएका हुन् ।

३३ वर्षीय मेस्सीले एक साताअघि बार्सिलोना छोड्ने वातावरण मिलाइदिन आग्रह गर्दै क्लबमा फ्याक्स पठाएका थिए । बार्सिलोनाबाट निरन्तरता दिन नसकिने बताउँदै सर्वाधिक छ पटकका बालोन डी‘ओर विजेता मेस्सीले क्लबको कोरोना परीक्षण तथा प्रशिक्षणमा फर्किन अस्वीकार गरेका थिए ।

मेस्सीले लामो समयको बसाइपछि बार्सिलोना छोड्ने चर्चा चलिरहँदा ला लिगा स्टारहरूले यसबारे बोलिरहेका छन् । बुधबार मात्र रियलका कप्तान सर्जियो रामोसले मेस्सी बार्सिलोनामै बसेको हेर्न चाहने बताएका थिए ।

यता, मोड्रिकले भने ला लिगा प्रतिद्वन्द्वी क्लब बार्सिलोनाका कप्तान मेस्सीले क्लब छोडेमा अरु खेलाडीले चम्किने मौका पाउने बताए । मेस्सीको बहिर्गमनले ला लिगामा ठूलो असर पार्ने भए पनि अन्य खेलाडीले स्टार हुने मौका पाउने मोड्रिकको भनाइ छ ।

क्रिस्टियानो रोनाल्डोले रियल छोड्दा भएको क्षतिझैं मेस्सीले क्लब छोड्दा घाटा हुने मोड्रिकको भनाइ छ । पोर्चुगिज स्टार रोनाल्डोले २०१८ मा स्पेन छोडेर इटालियन क्लब युभेन्टस गएपछि रियललाई कठिन भएको सम्झँदै मोड्रिकले भने, ‘मेस्सीले क्याप नोउ छोड्दा एकदमै ठूलो क्षति हुनेछ । जसरी रोनाल्डोले रियल छोड्दा भएको थियो । तर, तपाईंले विगतबारे सोच्न पाउनुहुन्न । यो फुटबल हो र यहाँ यस्तै हुन्छ ।’

‘यदि, मेस्सीले बार्सिलोना छोडेमा लिगका लागि ठूलो क्षति हुनेछ । तर, हामीले अगाडि बढ्नै पर्छ । उनले छोडेमा अरु खेलाडी चम्किनेछन् । जब रोनाल्डोले छोडेका थिए, यस्तै केही भएको थियो । उनीविनाको रियललाई कठिन भएको थियो, बार्सिलोनालाई पनि मेस्सीविना कठिन हुनेछ,’ उनले थपे ।

दुई सिजनपछि ला लिगाले २०१९–२० को उपाधि जितेको थियो । अब यो सिजन रियलले पुनः ला लिगाको उपाधि जित्नेमा मोड्रिक विश्वस्त छन् । ‘हामीसँग युवा टिम छैन । तर, हामीसँग अनुभवी टिम छ । जुन, अघिल्लो सिजन हामीले देखाएका थियौं र हामीलाई थाहा छ फेरि हामीले उपाधि जित्न सक्छौं ।’

रियल मड्रिडले २० सेप्टेम्बर रियल सोसिडाडसँग खेल्दै नयाँ सिजनको ला लिगा सुरुआत गर्दैछ । रियलले अक्टोबर २५ मा सिजनको पहिलो एल क्लासिको खेल्दैछ । यो खेल बार्सिलोनाको मैदान क्याप नोउमा हुनेछ ।