तेस्रो लिङ्गी बने आयुष्मान

तेस्रो लिङ्गी बने आयुष्मान

विराटनगर, १८ भदौ । अभिनेता आयुष्मान देशराज जोशी एक नयाँ सिरिजका लागी तेस्रो लिङ्गीको भूमिका निभाएका छन् ।

फरक शैलीको भूमिका निभाउँदै आफ्नो गेटअप तथा पहिचान नै परिवर्तन गरेका आयुष्मानले तेस्रो लिङ्गी बनेको तस्बिर इन्टाग्राममा सार्वजनिक गरेका हुन् । सार्वजनिक तस्बिरको वर्णन गर्दै यस मेटामोफिर्कक मेनिफेस्टोले महिला बन्नका लागि सर्जरी गर्ने इतिहासकै पहिलो पुरुषको कथा बताउने प्रयास रहेको आयुष्मान जानकारी गराएका छन् ।

यो शृंखला डेनिश कलाकार लिली एल्बे र गेरडा वेगेनरको जीवनको नेपाली रूपान्तरण हो । जब एक पत्नी आफ्नो पेन्टिङमा आफ्नो श्रीमान्लाई महिला मोडलको रूपमा पोज दिनका लागि आग्रह गर्छिन्, यसपछि उक्त श्रीमान्मा लुकेको पहिचान बाहिर निस्कन खोज्छ । यो शृंखलाले एक तेस्रो लिङ्गी व्यक्तिको जीवनलाई प्रस्तुत गर्छ ।

आफ्ना लागि यो शृंखला विशेष रहेको बताउँदै उनले यसलाई आफूले कहिले पनि कामको रुपमा नलिएको जनाएका छन् । उनी थप लेख्छन्, ‘यो पुरुष वा महिलाको नभएर, एक मानिसको संघर्षको कथा हो ।’ यस शृंखलामा आयुष्मानका साथै उनका भाइ आशिरमान देशराज जोशीको पनि अभिनय रहने छ ।