Rumpum Advertisement

प्रदेश १ मा कोरोना : विराटनगरको संक्रमण नियन्त्रणमा आएको छैन, सुनसरीमा फैलियो

प्रदेश १ मा कोरोना : विराटनगरको संक्रमण नियन्त्रणमा आएको छैन, सुनसरीमा फैलियो

विराटनगर, १८ भदौ । समुदास्तरमा संक्रमण देखिएको मोरङपछि सुनसरीमा संक्रमण बढ्दै गएको छ । पछिल्लो केही दिनयता मोरङको तुलनामा सुनसरीमा संक्रमितको संख्या दैनिक बढ्दो छ ।

बुधबार मोरङमा ४७ संक्रमित भेटिँदा सुनसरीमा ७१ संक्रमित भेटिएका थिए । मंगलबार मोरङमा १५ जना संक्रमित भेटिँदा सुनसरीमा ५६ जना संक्रमित भेटिएका थिए ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबारसम्म मोरङमा एक हजार ७०२ संक्रमित छन् । सुनसरीमा ८३९ संक्रमित छन् । संक्रमितमध्ये मोरङमा ६६५ र सुनसरीमा २७३ जना संक्रमणमुक्त भएका छन् । ३१ साउनमा मोरङमा संक्रमितको संख्या ८८६ हुँदा सुनसरीमा १२८ कोरोना संक्रमित थिए । पछिल्लो १७ दिनमा सुनसरीमा ७११ संक्रमित थपिँदा मोरङमा ८१६ संक्रमित थपिएका छन् । सुनसरीको तुलनामा मोरङमा संक्रमण दर घटेको सरोकारवालाहरु बताउँछन् ।

सुनसरीका पाँचवटा स्थानीय तहमा संक्रमण उच्च

मोरङमा सबैभन्दा बढी संक्रमित विराटनगर महानगरपालिकामा छन् । विराटनगरमा संक्रमितको संख्या १०७९ छ ।

विराटनगरपछि रंगेली नगरपालिका र बुढीगंगा गाउँपालिकामा संक्रमण बढी देखिएको छ । मोरङमा १७ जनाको संक्रमणका कारण मृत्यु भएको छ । मृतकमध्ये विराटनगरका ११, बुढीगंगाका २, रंगेलीका एकजना छन् । सुनबर्सी, बेलबारी, पथरी–शनिश्चरे नगरपालिकामा पनि एक–एकजनाको मृत्यु भएको छ ।

सुनसरीमा अधिकांश स्थानीय तहमा समुदायस्तरमा संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीकी फोकल पर्सन सिर्जना लिङथेमका अनुसार धरान, इटहरी, इनरुवा, दुहवीमा संक्रमणदर उच्च छ । उनका अनुसार तुलनात्मकरुपमा दुहवीमा धेरै संक्रमित छन् । क्षेत्रफल र जनघनत्व थोरै भएको दुहवीमा १३४ कोरोना संक्रमित छन् ।

धरानमा १९५ कोरोना संक्रमित छन् । संक्रमितमध्ये ६ जनाको मृत्यु भइसकेको छ । ‘सुनसरीका धेरै स्थानमा देखिएका संक्रमितको ट्राभल हिस्ट्री छैन्,’ उनले भनिन्, ‘समुदायस्तरमा संक्रमण फैलिएको छ ।’ इटहरीमा २१६ कोरोना संक्रमित छन् । बुधबारमात्र ५८ जना कोरोना संक्रमित थपिएका थिए ।

धरानमा समुदायमा पुग्यो, मृत्युदर बढी

धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहता धरानमा समुदायस्तरमा संक्रमण देखिएको छ । बुधबारसम्म १९५ जनामा संक्रमण देखिएको धरानमा ६ जनाको मृत्यु भएको छ ।

जुन विराटनगरको तुलनामा बढी हो । १०७९ जना संक्रमित देखिएको विराटनगरमा ११ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

धरानका मृतक व्यक्तिमा समुदायबाटै संक्रमण सरेको थियो । तर धरानमा आधिकारिकरुपमा समुदायमा संक्रमण पुगेको घोषणा भएको छैन । संक्रमितहरु होम आइसोलेसनमा बस्नुपर्ने भएकाले जोखिम झन् बढेको उनले बताए । मेहताका अनुसार ३० जना कोरोना संक्रमित होम आइसोलेसनमा बसिरहेका छन् ।

विराटनगरमा संक्रमण घट्यो

समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमा संक्रमणदर घटेको मेयर भीम पराजुली बताउँछन् । पछिल्लो समय कोरोना जाँच गर्न आउने मानिसको संख्या कम हुँदै गएको छ ।

संक्रमण दर कम भएका कारण मानिसहरु कम आएको उनले बताए । लक्षण नदेखिएसम्म जाँच नगर्ने भन्दै संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिले कोरोना जाँच गर्न नमान्दा समुदायमा फैलन सक्ने जोखिम भने रहेको उनले बताए ।

संक्रमण पुष्टि भए घरमै बस्नुपर्ने र समाजबाट तिरस्कृत हुने डरले परीक्षण गर्न आउनेहरुको संख्या घट्दै गएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की बताउँछन् ।

शंकास्पद व्यक्ति घरमै बस्दा परिवार हुँदै समाजमा भुषको आगोजसरी संक्रमण फैलने जोखिम रहेको जनस्वास्थ्यविद् डा. नवराज सुब्बा बताउँछन् ।