भारतमा पब्जीसहित एक सय १८ वटा चिनियाँ एप प्रतिबन्धित

विराटनगर, १८ भदौ । भारतमा चर्चित गेम पब्जीसहित एक सय १८ वटा चिनियाँ एपलाई प्रतिबन्ध लगाइएको छ ।

इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यी एपहरू भारतको सार्वभौमिकता र अखण्डता, देशको रक्षा र सार्वजनिक सुव्यवस्थाविरूद्धको गतिविधिमा संलग्न रहेको कारण प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिले जनाएअनुसार यो कदमले भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोग गर्नेहरूको हितको रक्षा गर्नेछ ।

यो निर्णय भारतको साइबरस्पेसको सुरक्षा र सार्वभौमिकता सुनिश्चित गर्ने अभिप्रायले लिएको हो । चर्चित गेम पब्जी, विच्याट, सर्च इञ्जिन बाइडुका दुईवटा एप, क्यामकार्डको बिजनेस कार्ड स्क्यानर, अलिबाबाको रकम भुक्तानीसम्बन्धी अलिपे, विद्युतीय व्यापारसम्बन्धी ताओबाओ एप, मार्भल सुपरवारसहितका खेलका एप, सिना न्यूज प्रतिबन्ध लगाइएका अन्य केही प्रमुख एपहरू हुन् ।

मन्त्रालयले ती एपबारे विभिन्न स्रोतहरूबाट थुप्रै उजुरी परेको जनाएको छ । उजुरीमा ती एपले एन्ड्रोइड र आइओएसमा रहेका प्रयोगकर्ताका विवरणको दुरूपयोग र गोप्य एवम् अनाधिकृतरूपबाट भारतबाट बाहिर सारेको बताइएको छ । राष्ट्रिय सुरक्षाको सरोकार देखाउँदै यसअघि भारत सरकारले टिकटकसहितका ५९ वटा निकै लोकप्रिय एपहरूलाई प्रतिबन्ध लगाएको थियो ।

चीन र भारतबीच तनाव बढिरहेको बेला भारत सरकारले अहिलेसम्म दुई सय २४ एपहरू प्रतिबन्धित गरेको छ ।

Loading...