Rumpum

Rumpum Advertisement

नेपाली क्रिकेटर गौतमलाई बिग ब्यास लिगमा अनुबन्धका लागि सिफारिस

नेपाली क्रिकेटर गौतमलाई बिग ब्यास लिगमा अनुबन्धका लागि सिफारिस

एजेन्सी, १८ भदौ । पछिल्लो केही समयदेखि अष्ट्रेलियन घरेलु क्रिकेट खेलिरहेका नेपाली खेलाडी सुमन गौतमलाई अष्ट्रेलियन बिग ब्यास लिगमा अनुबन्धका लागि सिफारिस गरिएको छ ।

पूर्वअष्ट्रेलियन खेलाडी स्टुवार्ट म्याकगिलले उनलाई बिग बासका लागि विभिन्न क्लबमा सिफारिस गरेका हुन् । जसका कारण यतिबेला उनको चर्चा बढिरहेको छ ।

म्याकगिलले ट्वीट गर्दै सुमनलाई बिग ब्यास लिगका क्लबले अनुबन्ध गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘कुनैपनि बीबीएल क्लबले स्पीनरको खोजी गरिरहेका छन्, जो विपक्षीमाथि हावी भएर खेल जिताउन सकोस्, यस्तोमा उनीहरूले अरु नभइ सुमनलाई टिममा लिनुपर्छ ।’

त्यसमा उनले सुमनको ट्वीटर ह्याण्डललाई पनि मेन्सन गरेका छन् । यसैगरी सो ट्वीटमा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले पनि शुभकामना दिएका छन् ।

अष्ट्रेलियाका लागि १० वर्ष खेलका म्याकगिलले सन् २००८ मा अन्तिम टेष्ट खेलेका थिए । लेग स्पीनर म्याकगिलको क्षमता भएपनि अर्का सुपर स्टार स्पीनर सेन वार्नको छायाँमा परेका थिए ।

वार्नका भन्दा म्याकगिलको स्ट्राइक रेट कम थियो । वार्नको ५७.४ स्ट्राइक रेट थियो भने म्याकगिलको ५४.० रहेको थियो ।