निर्वाचन आयोगको प्रस्ताव, उम्मेदवार खर्चमा अङ्कुश

विराटनगर, १८ भदौ । निर्वाचनमा सहभागी हुने उम्मेदवारले बैङ्किङ च्यानलबाट मात्र खर्च गर्ने गरी मौजुदा कानुन संशोधन प्रस्ताव अगाडि बढाइएको छ ।

निर्वाचन प्रक्रियाका सम्पूर्ण खर्च निश्चित खाताबाट खर्च गर्ने गरी निर्वाचन कानुनलाई एकीकृत गर्ने विधेयक मस्यौदा गरी आयोगले सैद्धान्तिक स्वीकृतिका लागि कानुन मन्त्रालयमा पठाएको हो । निर्वाचनको आर्थिक पारदर्शिताका लागि भन्दै आयोगले सो प्रस्ताव अगाडि बढाएको हो ।

प्रस्तावित व्यवस्थामा भनिएको छ, ‘‘उम्मेदवार हुने व्यक्तिले निर्वाचन प्रयोजनका लागि प्रयोग गर्ने बैङ्क खाताको विवरण र सो निर्वाचनको प्रयोजनका लागि खर्च गर्ने रकम तथा आर्थिक सहयोग वा प्राप्त रकम सो खातामा जम्मा गर्ने र निर्वाचन प्रयोजनका लागि खर्च हुने रकम सोही खाताबाट मात्र खर्च गर्ने कुराको प्रतिबद्धतासमेत पेस गर्नुपर्नेछ ।

राजनीतिक दलले समेत बेलाबेलामा निर्वाचन खर्च महँगो भएको गुनासो गर्दै आएका छन् । आयोगले खर्च पारदर्शी बनाउन यस्तो व्यवस्था प्रस्ताव गरेको हो ।

आयोगले चन्दाको स्रोत पनि दल तथा उम्मेदवारले खुलाउनुपर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरेको छ । उम्मेदवार वा राजनीतिक दलले कुनै व्यक्तिबाट ५० हजार रुपियाँँभन्दा बढी सहयोग लिँदा त्यसको स्रोत खुलाउन लगाएर लिनुपर्ने व्यवस्था प्रस्तावित छ ।

यस्तै उम्मेदवार वा राजनीतिक दलले कुनै एक जना व्यक्तिसँग एक आर्थिक वर्षमा एक लाख रुपियाँभन्दा बढी आर्थिक सहयोग लिन नहुने व्यवस्था प्रस्ताव गरेको छ । उम्मेदवार वा राजनीतिक दललाई पाँच लाख रुपियाँँभन्दा बढी आर्थिक सहयोग दिन नहुने व्यवस्था प्रस्तावित छ । यस्तै उम्मेदवार वा राजनीतिक दलले पाँच लाखभन्दा बढी हुने गरी आर्थिक सहयोग लिन नमिल्ने प्रस्ताव विधेयकमा गरिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...