परिवारमा खुुसी ल्याउने मुस्कानको सपना

विराटनगर, १८ भदौ । वीरगञ्ज निवासी मुस्कान खातुनको जीवनमा ठीक एक वर्षअघि ठूलो सङ्कट आयो ।

एसिड प्रहारबाट उनका दुवै हात, छाती र अनुहारको दाहिने भाग जले । उनलाई २०७६ भदौ २० गते एसिड छ्यापिएको थियो । एक वर्षको अवधि निकै पीडामा बिते पनि खातुन अहिले साहस बोकेर केही गर्ने अठोटका साथ अगाडि बढेकी छन् । मुर्छित अवस्थाबाट बचेर उनी प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना पीडा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष भन्न सक्ने भइन् ।

तर खातुनको घाउ केही निको भए पनि अनुहारका दाग र मनभित्र गडेको पीडा भने ताजै छ । आफ्ना बुवा रसुल अन्सारी र उज्ज्वलविक्रम थापासहित मङ्गलबार अबेर प्रधानमन्त्री निवास पुगेकी खातुनले प्रधानमन्त्रीसँग आफ्ना भनाइ निर्धक्क साथ राखिन् ।

प्रधानमन्त्रीसँगको भेटमा उनले एसिड प्रहार गर्नेलाई कडा सजाय हुनुपर्ने र कानुन कमजोर भएकाले एकदम कडा बनाउन माग गरिन् । खातुनले भनिन् , ‘प्रधानमन्त्रीज्यू, यो एसिड प्रहारको पीडा चाहिँ हामीले जीवनभर सहनुपर्ने तर अपराधी ठहरिएका चाहिँ खुलेआम हिँडिरहेका छन्, हाम्रो जस्तो पीडा अन्य दिदी–बहिनीले अब भोग्नु नपरोस्, अभिभावकले पनि सहनु नपरोस् ।’

एसिड पीडितको सबै उपचार खर्च सरकारले दिनुपर्ने र अपराधी ठहर भएकालाई आजीवन काराबासको सजाय हुनुपर्छ भन्दै खातुनले एसिड पीडितले निःशुल्क पढ्न र श्रम गर्न चाहेमा रोजगारीको अवसर उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गरिन् ।

एसिड पीडितले आफ्नो पीडा जीवनभर सहनुपर्ने तर दोषी चाहिँ पाँचदेखि आठ वर्षमै जेलमुक्त हुने गरेका छन्, यो ठीक भएन भन्ने गुनासो पनि उनले गरिन् ।

उहाँलाई एसिड छ्याप्ने वीरगञ्ज–२, छप्कैयाका १७ वर्षीय सम्साद आलम र एसिड प्रहारका योजनाकार १७ वर्षीय माजिद आलमलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलायो । कोरोना सङ्क्रमणका कारण सम्साद आलम अहिले कारागारबाट बाहिर आइसकेका छन् भने माजिद मात्रै काराबासमा छन् ।
आल्मुनियमको झ्यालढोका बनाउने व्यवसाय गर्दै आएका छन् उनका बुवा रसुल अन्सारीले ।

खातुनले आफ्नो उपचारका लागि हालसम्म ३० लाख रुपियाँ खर्च भएको सुनाइन् ।

नेपालमा एसिड पीडितको सङ्ख्या २०/२२ जना रहेको भनाइ खातुनको छ । आफ्ना लागि मात्रै नभई सबै एसिड पीडितको समस्या अवगत गराउन प्रधानमन्त्रीसँग भेट गरेको उनले बताइन् । कक्षा १२ सम्म पढेर जागिरे भई परिवारमा खुसी ल्याउने सपना छ उनको । नामझैं आफ्नो जीवनमा मुस्कान ल्याउन अझै केही वर्ष अस्पताल धाउनुपर्ने समस्या भने छँदैछ । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...