मेस्सीले क्लब छोड्ने विषयमा यसो भन्छन् रामोस

एजेन्सी, १८ भदौ । रियल मड्रिडका कप्तान सर्जियो रामोसले प्रतिद्वन्द्वी क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई आफ्नो भविष्य तय गर्ने अधिकार भएको बताएका छन् ।

पछिल्लो समय क्लब छोड्ने चर्चामा रहेका मेस्सीको विषयमा बोल्दै रामोसले यस्तो बताएका हुन् ।

अर्जेन्टिनी स्टार मेस्सीले बार्सिलोना छोड्ने वातावरण मिलाइदिन आग्रह गर्दै क्लबमा फ्याक्स पठाएका थिए । बार्सिलोनाबाट निरन्तरता दिन नसकिने बताउँदै उनले क्लबको कोरोना परीक्षण तथा प्रशिक्षणमा फर्किन अस्वीकार गरेका थिए ।

‘यो एउटा यस्तो विषय हो, जसमा हामी एक पक्षले मात्र कुरा गरिरहेका छौं । मेस्सीले आफ्नो भविष्य तय गर्ने अधिकार कमाएका छन् । तर, मलाई थाहा छैन कि उत्कृष्ट गन्तव्य कहाँ हुनेछ’, मेस्सीको विषयमा पत्रकारले सोधको प्रश्नको जवाफ दिँदै रामोसले भने ।

यसैगरी रामोसले मेस्सी ला लिगामै बसून भन्ने रियलको चाहना रहेको सुनाए । ‘स्पेनिस फुटबलका लागि, बार्सिलोनाका लागि, हाम्रा लागि, हामी यहीँ चाहन्छौं कि उनी यहीँ बसून् । लियोले स्पेनिस लिगलाई, उनको टिमलाई र एल क्लासिकोलाई उत्कृष्ट बनाउँछन्,’ उनले थपे ।

‘तपाईंले उत्कृष्टलाई हराउँदाको पल सधैं मन पराउनुहुन्छ र उनी विश्वकै उत्कृष्टमध्ये एक हुन्’, उनले भने ।

Loading...