विराटनगरमा यसरी मच्चायो हतियारधारी समूहले व्यापारीमाथि आतंक

विराटनगरमा यसरी मच्चायो हतियारधारी समूहले व्यापारीमाथि आतंक

विराटनगर, १८ भदौ । एक वर्षदेखि हतियार देखाएर विराटनगरका व्यापारीलाई धम्क्याउँदै र त्रसित बनाउँदै आतंक मच्चाएर पैसा असुुल्ने पाँच जनाको एउटा समूह मोरङ प्रहरीको फन्दामा पर्यो ।

हतियारधारी गिरोहका सदस्यहरु भारत बिहार सितामडी घर भएका २७ वर्षीय राजु साह, मोरङको कटहरी गाउँपालिका–२ आदर्श नगरका २६ वर्षीय किसन साह, २८ वर्षीय एलेक्स भनिने रविन शर्मा, २७ वर्षीय अभिषेक राय र सप्तरीको बोदेवसाइन नगरपालिका–८ का २७ वर्षीय नन्दु भनिने नन्दकिशोर साह पक्राउ परे ।

विराटनगरको जलजला चौकस्थित चाइना बजारमा कपडा बेच्ने काम गर्दै आएका भारतीय नागरिक राजुलाई विराटनगर महानगरपालिका–८ रेन्बो गल्लीस्थित उनकै डेराबाट पक्राउ परे । त्यस्तै किसनलाई विराटनगर–८ देवकोटा चौक, रविनलाई आफै घर, नन्दकिशोर र अभिषेकलाई विराटनगर–३ कञ्चनबारीस्थित नन्दकिशोरको डेराबाट पक्राउ गरिएको हो ।

हतियारको बलमा व्यापारीबाट पैसा असुल्ने गिरोहलाई विराटनगमा सार्वजनिक गर्दै प्रहरी ।

एक वर्षदेखि सक्रिय यो गिरोहले विभिन्न हिसाबले व्यापारीमाथि डर, धम्की र त्रास देखाउँदै आतंक मच्चाएर पैसा असलिरहेको खुलेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । तर लामै समयदेखि उधुम मच्चाइरहे पनि प्रहरीले भने यो जानकारी साउन दोस्रो सातातिर मात्रै पाएको थियो ।

सञ्जाल विस्तार गरेर आफ्नो धन्दा चलाइरहेको उक्त समूहले ठाउँठाउँमा गोली पड्काउँदै व्यापारीमाथि आतंक मच्चाइरहेको पाइएको एसपी खड्काको भनाइ छ । त्यही गिरोहको धम्कीका कारण व्यापारीले पनि ज्यान असुरक्षित रहेकोभन्दै घटना लुकाएर प्रहरीलाई खवर गरेनन् । उल्टै उक्त समूहलाई पैसा बुझाइरहेको भेटियो ।

एसपी खड्काले गिरोहका मुख्य नाइके अभिषेक रहेको र हतियार देखाउँदै त्रसित बनाएर व्यापारीसँग रकम असुल्ने धन्दा उनकै योजनामा चलाइएको बताए । उनका अनुसार पक्राउ परेकामध्ये रविन र नन्दकिशोर अभिषेकका विश्वासपात्र र अरु दुई मुख्य सहयोगी हुन् । पक्राउ परेको केही बेरपछि रविनकै घरबाट प्रहरीले मंगलबार साँझ पैसा असुल्न प्रयोग गर्ने गरिएको एउटा अटोमेटिक पेस्तोल र तीन राउण्ड गोली पनि बरामद गर्यो ।

पक्राउ पर्नेमध्ये नन्दकिशोरको डेराबाट भारतीय र नेपाली रुपैयाँ गरेर ९७ हजार एक सय २० रुपैयाँ प्रहरीले बरामद गरेको छ । जसमा ४९ हजार चार सय ५० भारतीय रुपैयाँ रहेको एसपी खड्काले बताए ।

प्रहरीले विभिन्न कम्पनीका १६ थान मोबाइल, कोटाक महिन्द्र नामको भारतीय बैंकको चेक, उनीहरुले प्रयोग गर्ने को ३२ प ७५२५, को १५ प २३१५ र को ३६ प २७६२ नम्बरको मोटरसाइकल र एउटा चक्कु नियन्त्रणमा लिएको छ ।

उनीहरुविरुद्ध हातहतियार खरखजना, अपराधिक लाभ र चोरी तथा संगठित अपराधमा मुद्दा चलाउन बुधबारनै म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी एसपी खड्काले दिए । ‘यो गिरोहमा अरु पनि आवद्ध भएको हुन सक्ने आशंकामा विभिन्न कोणबाट अनुसन्धान गर्दै थप खोज्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘निक्कै लामो समयदेखि धन्दा चलाइएका कारण अरु पनि व्यापारी पीडित भएको हुन सक्छन् ।’ खड्काले यो गिरोहबाट अरु व्यापारी वा सर्वसाधारण कोही पीडित भएमा तत्काल प्रहरीमा जानकारी गराउन आग्रह गरे ।

डरले पैसा बुझाउन गए व्यापारी

प्रहरीका अनुसार विराटनगरका व्यापारी विवेक मालपानीलाई एक वर्षअघि ९८४०४१८२३० नम्बरको मोबाइलबाट ज्यान मार्ने धम्कीसहित १० लाख रुपैयाँ माग्दै धम्कीपूर्ण फोन गएको थियो ।

व्यवसायी मालपानी विराटनगरमा गुट्खा, चालम र तेलको डिलर लगायतका व्यवसाय सञ्चालन गर्छन् । धम्कीसँगै डराएका उनले त्यतिबेलै उक्त गिरोहलाई विराटनगरको गुद्री बजारमा बोलाएर एक लाख रुपैयाँ सुम्पिएको प्रहरीले जनाएको छ । तर गिरोहसँग डराएका उनले प्रहरीमा भने खवर गरेनन् । उल्टै बाँकी रकम पछि उपलब्ध गराउने सर्त राखेर फर्किए ।

पुनः उनलाई गत असार २४ गते १० लाख रुपैयाँ माग्दै त्यही नम्बरबाट फोन आयो । झन् त्रसित बनेका उनले त्यसको पर्सिपल्ट असार २६ गते नोबेल शिक्षण अस्पताल नजिक कञ्चनबारीको नहरमा बोलाएर त्यही गिरोहलाई थप चार लाख रुपैयाँ दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै विराटनगरका अर्का व्यापारी रतन पारकलाई त्यही नम्बरबाट साउन १३ गते १० लाख दिनुपर्ने नभए जे पनि गर्ने भन्दै धम्कीसहितको फोन गयो । पारक विराटनगरमा इलेक्ट्रोनिक सामग्री र कम्प्युटरको व्यापार गर्छन् । उक्त घटनाबाट डराएका पारक एक जना कांग्रेस नेताको सहयोगमा साउन १६ गते प्रहरीमा पुगेको पाइएको छ ।

त्यसपछि घटनालाई तीव्र रुपमा अनुसन्धान थालेको प्रहरीले पछिल्लो समय व्यापारीलाई धम्क्याउने र पैसा असुल्ने गिरोहलाई नियन्त्रणमा लिएर ठूलै सफलता हात पारेको छ । ‘दुवै व्यापारीलाई धम्क्याएको मोबाइल नम्बर र धम्क्याउने शैली एउटै भएपछि अनुसन्धान तीव्र पारिएको थियो,’ प्रहरीका एक अधिकृतले भने, ‘त्यसपछि खोजी गर्दै जाँदा गिरोहसम्म पुग्न सफल भइयो ।’

त्यस्तै यही भदौ १५ गते चाइना बजारका सञ्चालक रामनरेश साहको घरबाट ११ लाख रुपैयाँ चोरी भएको थियो । उक्त चोरीको घटनामा पनि यही गिरोहको संलग्नता रहेको देखिएको प्रहरीले जनाएको छ । भारतीय नागरिक राजु साहकै पसलमा काम गर्ने र उनका बारेमा सबै कुरा थाहा पाएकाले योजना बनाएर चोरी गर्न गिरोहले सजिलै सकेको प्रहरीको विश्लेषण छ ।

धम्क्याउँदै असुलेको र चोरी गरेकोमध्ये केही रकम उनीहरुले बैंकमासमेत राखेको पाइएपछि त्यसतर्फ पनि प्रहरी अनुसन्धान सोझिएको छ । व्यापारीलाई धम्क्याउने र पैसा माग्ने तथा लिने काममा भने अभिषेक र रविन अघि बढ्ने गरेको पाइएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीले बुधबार गिरोहलाई सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पनि अभिषेकले यो कुरा स्वीकार गरिसकेका छन् ।

गोली पड्काएर मनोवैज्ञानिक त्रास
पैसा मागिसकेपछि उक्त समूहले व्यापारीका घर आसपासमा गोली पड्काएर व्यापारीमाथि मनोवैज्ञानिक त्रास पनि सिर्जना गर्ने गरेको फेला परेको छ ।

मनोवैज्ञानिक त्रास सिर्जना गर्दै डराएका व्यापारीलाई थप त्रसित बनाएर पैसा असुल्ने गिरोहको योजना रहेको खुलेको प्रहरीका एक अधिकृतले बताए । त्यही क्रममा साउन १६ गते राति ९ बजेतिर विराटनगरमै गोली पड्किएको खुलेपछि प्रहरीले त्यसमा संलग्नको खोजी तीव्र बनाएको थियो । उक्त गोली पैसा मागेको तीन दिनपछि त्यही गिरोहले व्यापारी पारकको घरको पर्खालमा पड्काएको खुलेको छ ।

घटनाका बारेमा सुक्ष्म अनुसन्धान थालेको प्रहरीले त्यतिबेला घटनास्थलबाट गोलीको खोका फेला पारेको थियो । तर त्यसभन्दा नौ महिनाअघि त्यही गिरोहले व्यापारी मालपानीको घरको पर्खाललाई पनि लक्षित गरेर गोली पड्काएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मालपानीले भने उक्त घटनाका बारेमा आफूले चाल नपाएको प्रहरीलाई बताएका छन् ।

दुवै व्यापारीको घरको पर्खालमा पेस्तोलबाट हानिएको गोलीले लागेको दाग पनि प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा भेट्टायो । प्रहरीले बरामद भएको पेस्तोल र गोली तथा यसअघि फेला परेको खोका परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउने तयारी गरिरहेको छ ।

व्यापारीलाई धम्क्याउन एक लाखमा पेस्तोल खरिद
अवैध धन्दा चलाउँदै धम्क्याएर व्यापारीसँग पैसा उठाउन एक लाख रुपैयाँमा गिरोहका नाइक अभिषेकले अटोमेटिक पेस्तोल खरिद गरेको पाइएको छ ।

भारतबाट पेस्तोल झिकाइसकेपछि गिरोहले विशेष गरेर मध्यम वर्गका व्यापारीलाई लक्षित गरेर धम्क्याउँदै पैसा असुल्न थाल्यो । ‘एक लाखमा भारतबाट पेस्तोल र छ राउण्ड गोली झिकाएपछि एक वर्षदेखि सञ्जाल विस्तार गरेर धन्दा चलाएको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘अहिलेसम्म तीन राउण्ड गोली विभिन्न ठाउँमा पड्काएर खपत गरिसकेको पनि खुलेको खुल्यो ।’

पक्राउ परेको गिरोहबाट बरामद भएका हतियार, नगद लगायतका सामान ।

बाँकी रहेको तीन राउण्ड गोली प्रहरीले पेस्तोलसँगै बरामद गरेको छ । भारतमा हतियारको कारोबार गर्ने समूहसँग सम्पर्क बढाएर पेस्तोल झिकाएको पाइएको प्रहरीले जनाएको छ । भारतीय समूहका सदस्यले भारतदेखि विराटनगरको कोशी प्रोजेक्टसम्म ल्याइदिएपछि त्यहाँबाट अभिषेकले पेस्तोल लिएर आएको खुलेको प्रहरीका एक अधिकृतले बताए ।