बायर्नबाट बिदा भए कौटिन्हो

एजेन्सी, १७ भदौ । ब्राजिलियन मिडफिल्डर फिलिप्पे कौटिन्हो जर्मन क्लब बायर्न म्युनिखबाट बिदा भएका छन् । एक वर्षका लागि बार्सिलोनाबाट लोनमा जर्मन आएका उनी बुधबारबाट बिदा भएका हुन् ।

जर्मनीमा एक सिजनको बसाइपछि उनी अब पुनः क्याप नोउ फर्किनेछन् । उनी अगस्ट २०१९ मा क्याप नोउबाट लोनमा जर्मन आएका हुन् ।

२८ वर्षीय कौटिन्होलाई ८.५० मिलियन युरो लोनमा बायर्नले भित्र्याएको थियो । कौटिन्होले बायर्नबाट बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिग जिते ।

‘यो सिजनका लागि म सम्पूर्ण समर्थक र स्टाफ एवं खेलाडीहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ सामाजिक सञ्जालमार्फत् उनले भने, ‘यो वर्ष साँच्चै नै अदभूत रह्यो । जहाँ, मैले धेरै कुरा सिकेँ र उपाधि पनि हात पारेँ । यो पलहरू म बिर्सन सक्दिनँ ।’

लिभरपुलका पूर्वखेलाडी कौटिन्होले अब भने बार्सिलोनाबाट स्थायी फुटबल खेल्ने सपना बुनेका छन् ।

Loading...