रेम्डेसिभिरबाट कोरोना संक्रमितको उपचार सुरु

बाँके, १७ भदौ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पहिलोपल्ट कोरोना संक्रमित बिरामीलाई रेम्डेसिभिर औषधि र प्लाज्मा थेरापीमार्फत उपचार सुरु गरिएको छ ।

१५ भदौमा कैलालीको धनगढी उपउपमहानगरपालिका–३ का ४८ वर्षीय संक्रमित पुरुषमा श्वासप्रश्वासमा समस्या भएपछि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड–१९ आईसियूमा भर्ना गरिएको थियो ।

उनको स्वास्थ्यमा समस्या आएपछि इन्जेक्टेबल औषधि रेम्डेसिभिर र प्लाज्मा थेरापी दुवै एकै साथ प्रयोग गरिएको हो । प्लाज्मा थेरापी र रेम्डेसिभिर औषधि प्रयोगपछि बिरामीको स्वास्थमा सुधार आएको उपचारमा संग्लन नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका वरिष्ठ फिजिसिएन डा. श्याम बिकेले जानकारी दिए ।

रेम्डेसिभिर औषधि भेन्टिलेटरमा भएका बिरामीलाई दश दिनसम्म प्रयोग गर्न सकिने र भेन्टिलेटरभन्दा बाहिरका बिरामीलाई पाँच दिनसम्म प्रयोग गर्न सकिने नेपाल स्वास्थ अनुसन्धान परिषदका बोर्ड सदस्यसमेत रहेका चिकित्सक बिकेले बताए ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा डा. सुमित पाण्डेको संयोजकत्वमा डा. असिम किद्वाईसहितको टिमले पश्चिम नेपालमा रेम्डेसिभिर र प्लाज्मा थेरापीको उपचार पद्धतिसहितको अनुसन्धान सुरु गरेको छ ।

Loading...