निषेधाज्ञा फिर्ता लिन उद्योगी व्यवसायीको माग

विराटनगर, १७ भदौ । कोरोना भाइरस महामारी नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले थप गरेको छ दिनको निषेधाज्ञामा फिर्ता लिन उद्योगी व्यवसायीहरुले माग गरेका छन् ।

उनीहरूले निषेधाज्ञा अनावश्यकभन्दै आपत्ति पनि जनाएका छन् । विराटनगरमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र विराट व्यापार संघले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै निषेधाज्ञा फिर्ता लिन आग्रह गरेका हुन् ।

सरकारले बन्दाबन्दीको अवस्थामा कर मिनाह नगर्ने, खानेपानी टेलिफोनमा सहुलियत नदिने हुँदा उद्योगीहरू थप गरिएको निषेधाज्ञा धान्न नसक्ने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए ।

उनले अहिलेको परिस्थितिमा विकल्पविनाको लकडाउन वा निषेधाज्ञालाई निरन्तरता दिन नसकिने प्रस्टाए । त्यसैगरी, उद्योगीहरूले अहिलेको अवस्थामा उद्योग, व्यापार व्यवसाय क्षेत्र पूर्ण रूपमा बन्द गर्नुपर्ने वा निषेधाज्ञा उल्लंघन गर्ने अवस्था सिर्जना भएको बताएका छन् ।

निषेधाज्ञा अन्त्य गर्दै नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले अवलम्बन गरेको मापदण्ड अनिवार्य पालनाको अनुगमनसहित उद्योग व्यापार सहज रूपमा चलाउने वातावरण तयार गर्नुपर्नेमा विराट व्यापार संघका अध्यक्ष सुजन थापाले जोड दिए । यसका लागि आफैं व्यवसायीहरूसमेत सतर्क र मापदण्ड पालना गर्नेतर्फ उन्मुख हुनुपर्नेमा उनको भनाइ छ ।

निषेधाज्ञा महामारी नियन्त्रणको विकल्प नभएको जनाउँदै उद्योगीहरूले यसक्रममा उद्योग व्यवसाय बन्द हुँदा कर्मचारी, श्रमिक, प्राविधिकको व्यवस्थापन गर्न समस्या, बैंकको ऋण, ब्याज किस्ता, बीमा प्रिमियम, घर बहाल, तिर्न सकस परेको जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबारदेखि २२ भदौसम्मका लागि परिमार्जनसहित निषेधाज्ञालाई निरन्तरता दिएको थियो ।

Loading...