पीएसजीका नेयमार, डी मारिया र पेरेडेस कोरोना संक्रमित

एजेन्सी, १७ भदौ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का तीन स्टार खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार विज्ञप्ति जारी गर्दै पीएसजीले आफ्ना तीन खेलाडीमा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

पीएसजीले आधिकारिक रूपमा संक्रमितको पहिचान खुलाएको छैन । तर, फ्रेन्च मिडिया ‘एल इक्युपे’का अनुसार फरवार्डद्वय नेयमार र एन्जल डी मारिया तथा मिडफिल्डर लियन्द्रो पेरेडेसलाई कोरोना पुष्टि भएको हो ।

पीएसजीले संक्रमित तीनै जनाको अवस्था सामान्य रहेको जनाएको छ । ‘पीएसजीका तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीनै जनाको स्वास्थ्य अवस्था सामान्य छ । सबै खेलाडी र स्टाफको आगामी दिनमा कोरोना परीक्षण हुनेछ’, ट्वीटमा पीएसजीले भनेको छ ।

पीएसजी अहिले नयाँ सिजनको तयारीमा छ । २३ अगस्टमा च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले १० सेप्टेम्बरबाट नयाँ सिजनको सुरुआत गर्नेछ ।

दुई साता अघिदेखि नै लिग वान सुरु भएता पनि पीएसजीले सुरुआत गरेको छैन । डिफेन्डिङ च्याम्पियन पीएसजीले अब लेन्ससँग खेल्दै लिग वानको सुरुआत गर्नेछ ।

पहिलाेपटक च्याम्पिन्स लिगकाे फाइनल खेलेकाे पीएसजी जर्मन क्लब बायर्न म्युनिखसँग १-० गोलले पराजित भएकाे थियो ।

Loading...