मल नपाएका किसानको गुनासो : ‘यो देशमा हामीलाई हेर्ने कोही छैन’

मल नपाएका किसानको गुनासो : ‘यो देशमा हामीलाई हेर्ने कोही छैन’

विराटनगर, १७ भदौ । मल पाइने आशमा लखन्तरीका किसान रामचन्द्र पालले विराटनगर धाएको बुधबार चार दिन भयो । तीन दिन धाउँदा वितरकले बुधबार (आज) बोलाएका थिए ।

दिउँसो युरिया मल पाउने आशमा रामचन्द्र साइकलमा विराटनगर आए । उनीसँगै मोरङ र सुनसरीका अन्य कृषकलाई पनि विराटनगर धरान रोडमा रहेको कदमाह कृषि सहकारी संस्थाद्वारा सञ्चालित वितरण केन्द्रले बोलाएको थियो ।

कृषकलाई बोलाएर सञ्चालक सम्पर्कविहीन बने । ‘भोकै प्यासै धाएको चारदिन भयो,’ १० विगाहा खेतको धान बिग्रन लागेको बताउँदै पालले भने, ‘दिनभरि बस्नुपर्छ । साँझ परेपछि रित्तो हात फर्कनुपर्छ ।’

रामचन्द्र जस्तै बर्जु गाउँपालिका– ४ सीतागञ्जबाट राम चौधरी विराटनगर धाएको चार दिन भयो । तर उनले आश्वासनबाहेक अन्य केही पाएका छैनन् । ‘दिनभरि घाममा बस्नुपर्छ, बेलुका खाली हात फर्कनुपर्छ,’ उनले भने, ‘सरकारले किसानलाई हेर्दै हेर्दैन ।’

मल नपाउँदा धानबाली डढ्न थालेको विराटनगर–११ का कृषक कृष्णप्रसाद अधिकारी बताउँछन् । साढे तीन विगाह खेतमा धान लगाएका उनले भारतबाट चोरबाटो हुँदै भित्रिएको एक बोरा मल प्रयोग गरेका थिए । तर मल प्रयोग गरेपछि धान डढ्न थाल्यो ।

‘यो देशमा किसानलाई हेर्ने मान्छे कोही रहेनछ,’ उनले भने, ‘किसानो समस्या सरकारले बुझेन ।’

लकडाउनका कारण मल समयमा नै आयात हुन नसक्दा वितरण गर्न समस्या भएको साल्ट ड्रेडिङ विराटनगरका प्रमुख राधेश्याम चौधरी बताउँछन् ।

उनका अनुसार यो पटक साल्ट ट्रेडिङले ५ हजार ६ सय मेट्रिकटन मल माग गरेको थियो । तर मागेजति मल आएको छैन । मल थोरै आएका कारण दामासाही हिसाबले बाँड्नु परेको उनले बताए ।

प्रदेश १ मा कुल खपतको ३० प्रतिशत साल्ट ट्रेडलिङकले कोटा पाएको छ । ७० प्रतिशत कोटा पाएको नेशनल टे«डलिङकमा भने मल नआएका कारण वितरण गरेको छैन ।