नेयमारलाई कोरोना संक्रमण

एजेन्सी, १७ भदौ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड नेयमारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पीएसजीले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना तीन खेलाडीमा कोरोना भाइरस संक्रमण भएको जनाएको थियो ।

तथापि, उसले खेलाडीको नाम खुलाएको छैन । तर फ्रेन्च मिडिया ‘एल इक्युपे’का अनुसार ती तीन खेलाडीमध्ये एक खेलाडी ब्राजिलियन स्टार नेयमार हुन् ।

‘पीएसजीभित्रका तीन खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरूको स्वास्थ्यअवस्था सामान्य छ,’ पीएसजीले ट्वीटमा भनेको छ ।

पीएसजी अहिले नयाँ सिजनको तयारीमा छ । २३ अगस्टमा च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले १० सेप्टेम्बरबाट नयाँ सिजनको सुरुआत गर्नेछ ।

दुई साता अघिदेखि नै लिग वान सुरु भएता पनि पीएसजीले सुरुआत गरेको छैन । डिफेन्डिङ च्याम्पियन पीएसजीले अब लेन्ससँग खेल्दै लिग वानको सुरुआत गर्नेछ ।

Loading...