‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’

विराटनगर, १७ भदौ । फूड बैंक अभियानबारे थाहा नहुने सायद कमै होलान् । ‘हुुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ फूड बैंकको नारा हो । अभियानको नारा मात्रै होइन अरुको छाक टार्न सुरु भएको फूड बैंकको काम साँच्चै नै सराहनीय छ ।

आफूसँग हुुनेले नहुनेलाई सक्ने सहयोग गराैं भन्ने उद्देश्यका साथ सुरु गरिएको फूड बैंक इटहरीमा सञ्चालनमा आएको आज सातौं दिन भयो । मोरङको केराबारी, सुनसरीको झुम्का र रामधुनीमा सञ्चालनमा आएपछि चर्चामा आएको फूड बैंकलाई सामाजिक सञ्जालमार्फत पछ्याइरहेका दुुई महिलाः माया राई र योशा गुरागाईंको म्यासेन्जरमा कुराकानी भएपछि अभियानलाई इटहरीमा सञ्चालनमा ल्याइएको हो ।

आफू र आफ्नो नजिकै रहेका मानिसहरूसँगको सहकार्यमा इटहरीमा सुरु गरिएको अभियानले हालसम्म इटहरी उपमहानगरपालिकाअन्तर्गतका ६ वटा वडाका दुई सय ३२ घरलाई फूड बैंकबाट संकलन भएको खाद्यान्न वितरण गरिसकेको छ ।

कसरी सुरु भयो इटहरीमा फूड बैंक ?

कोरोना महामारीका कारण दैनिक ज्यालमाजदूरी गरेर खाने परिवारमा परिरहेको समस्यासँग परिचित रहेका राई र गुरागाईं दुवैले आफूले कसरी सहयोग गर्न सकिन्छ भन्ने सोचिरहेका थिए । प्रदेश १ का विभिन्न ठाउँमा फूड बैंक सञ्चालनमा आएपछि भने यस्तै केही गर्न सकिन्छ कि भन्ने उद्देश्यका साथ दुवैले म्यासेन्जरमा कुराकानी गरे ।

आफूहरूको अवस्था मूल्यांकन गरे र नजिकैको साथीभाइ, आफन्त र चिनेका सहयोगीसँग अभियानको बारेमा छलफल गरे । सबैले आफूले सक्ने सहयोग गर्ने बचन दिएपछि सुरु भयो इटहरीमा फूड बैंक । राई र गुरागाईंको संयुक्त अगुवाईमा सुरु भएको फूड बैंकमा हाल चार महिला आबद्ध छन् । राई र गुरागाईंबाहेक अभियानमा जोडिएका दुवै महिला हुन् । फूड बैंक इटहरी र यसमार्फत हुुदै आएको कामको बारेमा थाहा पाएपछि आफूहरू स्वतःस्फूर्तरूपमा अभियानमा आबद्ध भएर काम गरिरहेको मिश्रा गुरुङ र सुस्मिता नेपाल बताउँछन् ।

संकलन र वितरण कसरी हुन्छ ?

इटहरीस्थित सेन्ट्रल प्लाजा अगाडि फूड बैंकको स्टल राखिएको छ । फूड बैंक र यसको नारा लेखिएको सानो ब्यानर प्लाजा छिर्ने गेटअघि राखेर अभियन्ताहरू सहयोगीको पर्खाइमा बस्छन् । सहयोग गर्न मन भएका सहयोगी आफूले सकेको खाद्यान्न, आर्थिक सहयोग वा दुवै लिएर आउने गरेका छन् । इटहरीभन्दा टाढा रहेका र विदेशमा रहेका सहयोगीहरूले भने अभियान्ताहरूको बैंक खातामा रकम पठाएर सहयोग गरिरहेका छन् ।

एक दिन सहयोगको लागि स्टल राख्ने र अर्काे दिन राहत सामग्री वितरण गर्न जाने अभियानको कार्यशैली रहेकाले स्टल राखिएको दिन सहयोगी र उनीहरूले गरेको सहयोगको विस्तृत विवरण अभियन्ताहरूले लेख्ने गरेका छन् । साथै अभियानमा हुने सहयोग र अभियानद्वारा गरिने हरेक सहयोगको विस्तृत विवरण अभियानले आफ्नो फेसबुक पेजमार्फत हरेक दिन सार्वजनिक गर्दै आएको छ ।

‘हामी हतारमा काम गर्दैनौं । संकलन भएको खाद्यान्न र आर्थिक सहयोगको पहिले हिसाब हुन्छ । हामी राहत वितरण गर्न जान लागेको वडासँग समन्वय हुन्छ, वडाअध्यक्षसँग कुराकानी हुन्छ,’ अभियानका नेतृत्त्वकर्ता माया राई भन्छिन्, ‘त्यहीँअनुसार सहयोगको अति नै खाँचो परेका घरको विवरण संकलन गर्छौं र सोहीअनुरुप लगेर वितरण गर्छौं ।’

इटहरी उपमहानगर क्षेत्रभित्र विशेषतः लकडाउन र निषेधाज्ञाको प्रत्यक्ष प्रभावमा परेका आर्थिक रूपमा विपन्न, श्रम गर्न नसक्ने अशक्त र दैनिक ज्यालामजदूरी गरेर खाने मानिस भोकै बस्न नपरोस् भन्ने उद्देश्यका साथ सुरु भएको अभियानले सहयोगको रूपमा स्टलमा उपलब्ध भएका सामग्री मात्रै नभइ एउटा परिवारलाई आफ्नो छाक टार्न आवश्यक हुने खाद्यान्न सामग्री उपलब्ध गराइरहेको छ ।

‘सहयोग प्राप्त भइन्जेलसम्म अभियान जारी रहनेछ’

अभियानका लागि देश, विदेशबाट हालसम्म ७९ हजार ५ सय रुपैंया संकलन भएको छ । संकलित रकम र सहयोगी दाताद्वारा उपलब्ध गराइएका खाद्यान्न सामग्रीसहितको राहत प्याकेज बनाई अभियानले हालसम्म पाँच सय ७४ केजी चामल, दुई सय ९३ केजी दाल, दुई सय १२ केजी नुन, एक सय ६ लिटर तेल, ३८ केजी भूजा, ८६ केजी चिउरा र ४२ केजी सोयाबिन वितरण गरिसकेको छ ।

निःस्वार्थ भावनाका साथ अन्य ठाउँमा नै अभियान सुरु भएको भए पनि यसले समाजमा पार्ने सकारात्मक प्रभावको मूल्यांकन गर्दै आफूहरूले इटहरीमा सुरु गरेको अभियानमा साथीभाइ, आफन्त र देश विदेशमा रहेका सबैले साथ दिइरहेको र सहयोगीको संख्या दैनिक वृद्धि भइरहेको अभियन्ता योशा गुरागाई बताउँछिन् ।

‘उपमहानगर क्षेत्रभित्र कोही भोकै बस्न नपरोस् भन्ने उद्देश्यका साथ अभियान सुरु गरेका हौं । आजसम्म २ सय ३२ घरलाई राहत प्याकेज उपलब्ध गराइसकेका छौं,’ अभियानबारे गुरागाईं भन्छिन्, ‘अभियानमा राम्रो साथ पाइरहेका छौं, यस्तै सहयोग भइरहे अभियानले निरन्तरता पाइरहनेछ ।’

अभियानले गरेको सहयोग देखेर अभियानमा अभियन्ताका रूपमा जोडिएकी सुष्मिता नेपाल सहयोग गर्न अभियानकै सदस्य हुननपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘जोसुकैले जस्तोसुकै सहयोग गर्न सक्नुहुन्छ । यस्तो बेला सहयोग गरे कसैको भोको पेट भरिन्छ । वहाँहरूको आशीर्वाद पनि लाग्छ ।’

अभियानका नेतृत्त्वकर्ता माया राई यस्तो विषम परिस्थितिमा हुनेले सधैं घरमा विभिन्न परिकार बनाएर दिनै खाइरहनुभन्दा आफ्नो एकदिनको परिकार घटाएर सकेको सहयोग गर्ने हो भने खान नपाएका मानिसहरूको भोको पेट भरिने बताउँछिन् ।

‘हुनेले अनेक खाने नहुनेले खानै नपाउने स्थिति हाम्रो समाजमा छ । हामीले कसैलाई त्यो नखानु यो मात्रै खानु भनेर भन्दैनौं,’ राई भन्छिन्, ‘बरु एक दिन त्यो नखाएर हाम्रो अभियानमार्फत नहुनेलाई सहयोग गरिदिनुुस् भनेर आग्रह गर्छौं । अहिलेसम्म सबैले साथ दिइरहुनभएको छ । साथ रहन्जेलसम्म अभियान जारी रहनेछ ।’

Loading...