कोशी कोभिड उपचार केन्द्रका चिकित्सकलाई विराट मेडिकल कलेजमा तालिम

विराटनगर, १७ भदौ । कोभिड १९ संक्रमित बिरामीको उपचारको लागि सञ्चालनमा ल्याइएको विराटनगरको कोशी कोभिड उपचार केन्द्रको आईसीयूमा (सघन उपचारकक्ष) कार्यरत ११ चिकित्सक तथा नर्सिङ स्टाफलाई विराट शिक्षण अस्पतालले तालिम दिएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको प्रस्तावमा विराट शिक्षण अस्पतालले तीन दिने बेसिक क्रिटिकल केयर तालिम (बीसीसी) प्रदान गरेको हो । १४ भदौबाट सञ्चालन भएको तालिमको बुधबार समापन भएको अस्पतालले जनाएको छ ।

विराट शिक्षण अस्पतालको क्रिटिकल केयर टिमले डिजाइन गरेको तालिममा विशेष गरी कोभिड महामारीको अवस्थामा सघन उपचार कक्षमा बिरामीको उपचार एवम् व्यवस्थापन कसरी गर्ने भन्ने विषयलाई सैद्धान्तिक र प्रयोगात्मक विषय समावेश गरिएको छ ।

तालिममा उपचारका क्रममा संक्रमित व्यक्ति एवम चिकित्सक तथा नर्सिङ स्टाफ स्वयंमले आफूलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा जानकारी प्रदान गरिएको छ ।

चिकित्सक तथा नर्सहरूलाई क्रिटिकल केयर तालिम नदिइने भएकाले सघन उपचार कक्षमा कार्यरत चिकित्सक र नर्सिङ स्टाफले छुट्टै दक्षता आवश्यक पर्छ । प्रदेश सरकारको प्रस्तावमा कोर्सको डिजाइन गरी स्वास्थ्यकर्मीहरूलाई तालिम प्रदान गरेको विराट शिक्षण अस्पतालका एनेस्थेसिओलोजी एवम् क्रिटिकल केयर शाखाका प्रमुख डा. ललितकुमार राजवंशीले बताए ।

‘कोर्सले पूर्ण रूपमा दक्षता प्रदान नगरे पनि सघन उपचार कक्षमा अत्यावश्यक पर्ने सामान्य ज्ञान भने प्रदान गर्छ’ राजवंशी भन्छन्, ‘सघन उपचार कक्षसम्बन्धी आवश्यक ज्ञानको अभावमा जोखिने बढ्ने भएकाले सरकारले यी विषयमा तत्काल आवश्यक पहल गर्नुपर्छ ।’

विराट शिक्षण अस्पतालको सघन कक्षमा कार्यरत चिकित्सक एवम् नर्सिङ स्टाफले भने बीसीसी कोर्स पूरा गरेको उनले बताए । ‘बीसीसी कोर्सको ज्ञान सघन उपचार कक्षमा काम गर्ने सबै स्वास्थ्यकर्मीलाई आवश्यक रहन्छ,’ डा. राजवंशी भन्छन्, ‘विराट शिक्षण अस्पतालसँग सहकार्य गरी आवश्यक सहयोग एवम् तालिमको लागि आउने जो कोहीलाई सहयोग गर्न तयार छौं ।’

क्रिटिकल केयरसम्बन्धि तालिम लिनका लागि केही शर्त एवम् योग्यता अनिवार्य रहेको उनले बताए । तालिमको लागि मात्रै नभइ सघन उपचारको क्रममा कुनै समस्या आइपरे आवश्यक सहयोगसहित सहकार्य गर्न आफूहरू तयार रहेको उनले बताए ।

तालिममा डा. राजवंशी, डा. कनक खनाल, डा. वधशाला अर्जेल, डा. कुमुद प्याकुरेल, डा. गुजन रेग्मी, डा. रोशन प्रधान, डा. आकृति वज्राचार्य र नानु वाइवाले सहजीकरण गरेका थिए ।

Loading...