Rumpum

Rumpum Advertisement

बाँसकाे पुलले निम्त्याएको ‘ग्याङ फाइट’, छुट्याउन गएका दाजुको मृत्यु, भाइको अवस्था गम्भीर

बाँसकाे पुलले निम्त्याएको ‘ग्याङ फाइट’, छुट्याउन गएका दाजुको मृत्यु, भाइको अवस्था गम्भीर

विराटनगर, १७ भदौ । पुलको विषयमा भएको विवादका कारण मोरङको बेलबारी नगरपालिका–५ कसेनीमा भएको ‘ग्याङ फाइट’ छुट्याउन गएका एक जनाको मृत्यु भएको पाइएको छ ।

गत बिहीबार भएको घटनामा स्थानीय चन्द्रकुमार राईको मृत्यु भएको हो ।

उनका दाजु, भाइ र भतिज घाइते छन् । उनीहरूको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ । टाउकोमा गम्भीर चोट लागेका समुन्द्रको अहिले पनि आईसीयूमा उपचार भइरहेको छ ।

बेलबारी नगरपालिका ५ का वडाअध्यक्ष विश्वबन्धु बस्नेतका अनुसार सइकुमार परिवारका माइलो छोरा हुन् । मृतक चन्द्रकुमार उनका साइँला र समुन्द्र कान्छा भाइ हुन् । गौरव सइकुमारका छोरा हुन् ।

कसरी भयो घटना ?

मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामा रहेको पक्की पुल २०७४ साल साउनमा आएको बाढीले बगाएपछि ओहोर-दोहोरका लागि बाँसको पुल बनाइएको थियो ।

पक्की पुल नबनेपछि स्थानीय राजन चौधरी, मञ्जा माझीलगायत नौ जनाले बाँसको अस्थायी पुल बनाए । पुलबाट दैनिक सयौं मानिस आवत-जावत गर्छन् । पुल नहुँदा तिनै युवाले पैसा लिएर दुई पाङ्ग्रे सवारी साधन र मानिसलाई खोला वारपार गराउँथे ।

तर सोही पुलका विषयमा भएको विवादले एउटा परिवारमा मानवीय क्षति गरिदिएको छ । उक्त पुलका कारण उत्पन्न विवादले ‘ग्याङ फाइट’को रूप लिँदा एक जनाको ज्यान गयो । मृतककै परिवारका तीन जना घाइते भएका छन् ।

पुल बनाएका युवाले सवारी वारपार गराउँदा प्रतिसाधन २५ रुपैयाँ पैसा लिने गरेका थिए । मानिसलाई भने छुट थियो । वडाअध्यक्ष विश्वबन्धु बस्नेतका अनुसार पुल बनाउँदा लागेको खर्च उठाउन र बाढीले फेरि बगाइदिएको खण्डमा नयाँ पुल बनाउन युवाहरूले आवत-जावत गर्ने सवारीसाधनसँग पैसा लिएका हुन् ।

गत बिहीबार साँझ कसेनीका दिनेश श्रेष्ठलगायतका युवाहरूले पुलबाट उठाएको पैसा आफूहरूले पनि खर्च गर्नु पाउनुपर्ने भन्दै विवाद गरे । विवादका क्रममा मोटरसाइकलमा आइपुगेका ग्रामथान गाउँपालिका–२ का ३३ वर्षीय कृष्ण चौधरी सहभाागी भए । उनले कसेनीकै बिनय सरदारलगायतका युवालाई फोन गरेर बोलाए ।

वडाअध्यक्ष बस्नेतका अनुसार त्यसपछि भेला भएका स्थानीयले विवाद नगर्न आग्रह गर्दै सबैलाई सम्झाइ-बुझाइ पठाए । केही बेरमा आइपुगेको प्रहरी टोली पनि विवाद साम्य भएपछि फर्कियो । तर घटना त्यत्तिकैमा सकिएन ।

रिसईबी साँधेर बसेको चौधरी समूहका २५-३० जना युवा भोलिपल्ट शुक्रबार गाउँ पसेर अघिल्लो रात विवाद गर्नेको खोजी गर्न थाले । त्यही क्रममा भेटिएका श्रेष्ठमाथि उनीहरूले आक्रमण सुरु गरे । स्थानीयका अनुसार श्रेष्ठले भागेर ज्यान जोगाए ।

झगडा गर्ने युवाहरूलाई सम्झाउन पुगेका ४० वर्षीय चन्द्रकुमार राईमाथि ती युवाले आक्रमण गरे । प्रत्यक्षदर्शीका अनुसार झगडा नगर्न भन्दै सम्झाउन पुगेका उनीमाथि बञ्चरो प्रहार भयो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा बूढीगंगाको विराट टिचिङ अस्पतालमा मृत्यु भयो ।

त्यसपछि घटनास्थलमा पुगेका ४३ वर्षीय सइकुमार, ३७ वर्षीय समुन्द्र र १६ वर्षीय गौरव राईमाथि पनि पालैपालो खुकुरी, बञ्चरोलगायतले आक्रमण गरेर घाइते बनाइएको स्थानीयको भनाइ छ ।

‘पुलका कारण उत्पन्न विवादले एउटा ठूलो घटनाको रूप लियो,’ वडाअध्यक्ष बस्नेतले भने, ‘जुन विवाद झगडामा परिणत हुँदा एकै परिवारका एक जनाको मृत्यु र तीन जना घाइते हुन पुगे ।’

उनका अनुसार अघिल्लो दिनको घटनासँग जोडिएका युवाहरू भएको भन्दै चन्द्रकुमारको परिवारमाथि आक्रमण गरिएको पाइएको छ । उनीहरू अघिल्लो दिनको घटनासँग जोडिएको नपाइएको उनको भनाइ छ ।

सइकुमार पिलर राखिँदै गरेको निर्माणाधीन पक्की पुलको सुरक्षागार्ड हुन् । ‘अघिल्लो दिन के कुरामा विवाद भएको थियो हामीलाई थाहा भएन । भोलिपल्ट नयाँ युवा गाउँमा आएर झगडा गर्न लागेको देखेर सम्झाइ-बुझाइ गर्न गएका थियौँ,’ उपचाररत उनले भने, ‘तर एक्कासी हामीमाथि आक्रमण सुरु भयो । त्यही घटनामा भाइ नै गुमाउनु पर्‍यो ।’

विराटनगरमा नृत्य सिकाउँदै आएका नृत्य प्रशिक्षक चन्द्रकुमार कोरोना संक्रमणका कारण गरिएको ‘लकडाउन’पछि गाउँमै गएर बसेका थिए ।

चन्द्रकुमार अविवाहित हुन् । ‘सामान्य विवाद हत्यामा परिणत भयो,’ बस्नेतले भने, ‘त्यो घटनादेखि सबै स्थानीय डराइरहेका छन् ।’

घटनामा संलग्नमध्ये ग्रामथान गाउँपालिका–६ का ३४ वर्षीय जितेन्द्र चौधरी, ३१ वर्षीय दीपेन्द्र चौधरी, ३२ वर्षीय वीरेन्द्रकुमार खाँ, बेलबारी –६ का ३८ वर्षीय विशालकुमार खवास र ३१ वर्षीय राजेन भनिने राजिन्द्र राई (थुलुङ) पक्राउ परिसकेका छन् । उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ ।

घटनामा संलग्न ग्रामथान–७ का २५ वर्षीय प्रभात चौधरी, ३५ वर्षीय अनुज माझी, ग्रामथन– ५ का ३३ वर्षीय दिनेश चौधरी, ग्रामथान–४ का ३७ वर्षीय ओम धामी, ग्रामथान–२ का ३३ वर्षीय कृष्ण चौधरी, बेलबारी –५ का विनय सरदार, सुन्दरहरैँचा नगरपालिका–११ का ३३ वर्षीय दिनेश मास्केलगायत फरार रहेको प्रहरीले जनाएको छ ।

हतियार प्रहार गर्ने समूहका पनि जितेन्द्र घाइते भएका थिए । सामान्य उपचारपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले भने पुलको विषयमा ज्यानै जाने गरी भएको घटनालाई सामान्य विवादका कारण भएको बताउँदै आएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले पुलको विषयमा उत्पन्न विवादका कारण घटना नभएको दाबी गरे ।

‘ठिटाहरूबीच झगडा गर्न केही कारण पनि चाहिँदैन,’ उनले भने, ‘पुलको विवाद नभइकन मापसे गरेर भएको सामान्य विवादले झडपको रूप लिएको हो ।’