भावुक बन्दै बार्सिलोनाबाट बिदा भए राकिटिक

एजेन्सी, १७ भदौ । क्रोएशियन मिडफिल्डर इभान राकिटिक बार्सिलोनाबाट बिदा भएका छन् । छ वर्षको क्याप नोउ बसाइ अन्त्य गर्दै उनी पूर्वक्लब सेभिल्ला फर्किएका हुन् ।

बार्सिलोनाले बुधबार उनको बिदाइ गरेको थियो । जसमा उनी भावुक बन्दै बार्सिलोनाबाट बिदा भएका थिए । पत्रकार सम्मलेनका क्रममा उनले बार्सिलोनामा बिताएका हरेक क्षण याद आउने बताए ।

‘मैले बार्सिलोनामा बिताएका प्रत्येक पल याद आउनेछन् । म सधैं यहाँका सहकर्मी, समर्थक र मैदान सम्झिरहने छु । यहाँबाट खेल्न पाएकोमा गर्व महशूस गरेको छु,’ उनले भने ।

बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोइम्यानको रोजाइमा नपर्ने पक्का भएपछि ३२ वर्षीय राकिटिक फेरि सेभिल्ला फर्किएका हुन् । सेभिल्लाले मंगलबार राकिटिकलाई २ वर्षका लागि क्लब फर्काएको जनाएको छ ।

राकिटिकले पूर्वक्लब रोज्दा धेरै महँगोमा सम्झौता नगरेको बताइएको छ । खबरका अनुसार उनले दुई वर्षका लागि ५.४ मिलियन पाउण्डमा सम्झौता गरेका छन् । सो सम्झौताअनुसार राकिटिकले क्लबबाट वार्षिक २ दशमलब ७ मिलियन पाउण्ड पाउनेछन् ।

सन् २०१४ मा क्याप नोउ आएका उनले बार्सिलोनासँग आफैंले अर्को क्लब जाने बताएका हुन् । बार्सिलोनामा पूर्वप्रशिक्षकद्वय अर्नेस्टो भाल्भेर्डे र क्वीक सेटिन रहँदा उनले कमै मौका पाएका थिए ।

अब, नयाँ प्रशिक्षक रोनाल्ड कोइम्यानको प्रोजेक्टमा भने उनी रहेका छैनन् । यसैले उनी पूर्वक्लब फर्किएको बताइएको छ । उनले बार्सिलोनाका लागि ३१० खेल खेलेका छन्, जसमा उनले ३६ गोल गरेका छन् ।

Loading...