Rumpum

Rumpum Advertisement

कोभिड–१९ विरुद्ध सुरक्षा रणनीतिसहित ‘भेनिस फिल्म फेस्टिभल’ हुँदै

कोभिड–१९ विरुद्ध सुरक्षा रणनीतिसहित ‘भेनिस फिल्म फेस्टिभल’ हुँदै

विराटनगर, १७ भदौ । कोरोना भाइरस महामारीका बीच ‘भेनिस फिल्म फेस्टिभल’ हुने भएको छ ।

कोरोना महामारीको सर्वाधिक प्रभाव परेको इटालीमा कोभिड–१९ विरुद्ध सुरक्षा रणनीतिसहित विश्वको सबैभन्दा पुरानो फिल्म महोत्सव आयोजना गर्ने तयारी गरिएको हो । कोरोना महामारीका कारण योपालिको भेनिस फिल्म फेस्टिभल अलिक फरक हुने भएको छ । २ सेप्टेम्बरदेखि सुरु हुने फेस्टिभल १० दिनसम्म चल्नेछ ।

टेम्प्रेचर स्क्यानर, र भौतिक दुरी कायम राख्दै फिल्म देखाइन स्क्रिन जडान भएका छन् । साथै, फिल्म फेस्टिभलमा सहभागी हुने सबैले अनिवार्यरूपमा मास्क लगाउनु पर्ने नियम लागू गरिएको छ । आयोजक र स्थानीय दर्शकबाहेक अन्य देशबाट आउने आगन्तुकले पनि सुरक्षाका लागि जारी गरेको निर्देशन पालना गर्नु पर्ने बताइएको छ ।

मानिसहरूलाई भेनिस फिल्म फेस्टिभलको निमन्त्रणापत्रसँगै सुरक्षाका लागि जारी निर्देशन पनि पठाइएको छ । फेस्टिभलमा उपस्थित सबैको शरीरको तापक्रम जाँच गरिने छ । इटालीको सेङ्गेन बाहिरबाट आएका आगन्तुकले अनिवार्य दुई पटक कोभिड परीक्षण गर्नु पर्ने र कार्यक्रम सकिएपछि पनि ‘ट्रेसिङ एन्ड टेस्टिङ’ हुने निर्देशिकामा उल्लेख गरिएको छ ।