विराटनगरमा कोरोना : कन्ट्याक ट्रेसिङमा आउन मान्दैनन् सर्वसाधारण

विज्ञ भन्छन् : ‘भुसको आगो जसरी फैलन सक्छ’

विराटनगर, १७ भदौ । विराटनगरमा कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुले पीसीआर जाँचका लागि इन्कार गर्न थालेका छन् । समुदास्तरमा संक्रमण देखिएको विराटनगरमा मंगलबारसम्म १०३० जना संक्रमित छन् ।

संक्रमितमध्ये ११ जनाको मृत्यु भएको छ । आइसोलेसन बेड अभावका कारण ५८९ संक्रमित घरमै बस्न बाध्य छन् । ४४४ जना संक्रमणमुक्त भइसकेका छन् ।

संक्रमितको संख्या दैनिक बढ्दै गए पनि संक्रमितको कन्ट्याक ट्रेसिङमा परेकाहरु पीसीआर जाँच गर्न इन्कर गर्न थालेका हुन् ।

पीसीआर रिपोर्ट ढिलो आएपछि विराटनगर महानगरपालिकाले कोशी अस्पतालमा छुट्टै मेसिन राखेको छ । तर संक्रमितको कन्ट्याक ट्रेसिङमा परेकाहरुले पनि पीसीआर जाँच गर्न इन्कार गर्न थालेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली बताउँछन् ।

‘हिजो संक्रमितको कन्ट्याक टे«सिङमा परेकाहरु आफैं कोरोना जाँचका लागि आउँथे, तर अहिले संक्रमितले भनेका सबै व्यक्ति पीसीआर जाँच गर्न मान्दैनन्,’ मेयर पराजुलीले कोशी अनलाइनसँग भने, ‘कन्ट्याक ट्रेसिङमा परेकाहरुले पनि लक्षण देखिएपछि आउँछौं भन्छन् ।’

विराटनगरका संक्रमितमध्ये ५८९ होम आइसोलेसनमा छन् । कोरोना पोजेटिभ देखिए समाजबाट तिरस्कृत हुने डरले सर्वसाधारणहरु कोरोना जाँच गर्न नआएका हुन् । संक्रमितलाई राख्ने आइसोलेसन नभएका कारण कोरोना परीक्षण गर्नेको संख्या घट्दो रहेको सरोकारवालाहरु बताउँछन् ।

‘हिजो संक्रमितको व्यवस्थापन र कोरोना जाँचका लागि जनप्रतिनिधिलाई फोन आइरहन्थ्यो,’ मेयर पराजुली भन्छन्, ‘कोरोना अब ‘युज टु’ भइसक्यो, परीक्षणका लागि नआउँदा जोखिम भने बढ्छ ।’ यद्दपि विराटनगरमा संक्रमण दर घटेको उनको दाबी छ ।

संक्रमण पुष्टि भए समाजले गर्ने व्यवहार र तिरस्कारका बीच घरमै बस्नुपर्ने बाध्यताका कारण पीसीआर जाँच गर्नबाट टाढिदै गएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की बताउँछन् ।

‘संक्रमण देखिए घरमै बस्नुपर्छ, समाजले के भन्ला भन्ने डर पनि छ । अझ डेरामा बस्नेलाई झनै गाह्रो छ,’ कार्की भन्छन्, ‘बाध्यात्मक अवस्थामा मात्र परीक्षण गर्न बसेकाहरु पनि छन् ।’ उनका अनुसार विराटनगरमा घरबेटीभन्दा डेरामा बस्नेहरु परीक्षण गर्न मानिरहेका छैनन् ।

दीर्घरोगीलाई उपचार गर्न अस्पतालले अनिवार्य पीसीआर रिपोर्ट खोज्ने भएका कारण र कन्ट्याक ट्रेसिङमा परेर लक्षण देखिएकाहरु भने आफैं कोरोना जाँचका लागि आउने गर्छन् ।

‘कोरोनाको औषधि छैन । परीक्षण गर्दा पोजेटिभ देखिए समाजलको डर पनि छ,’ काकी भन्छन्, ‘औषधि र उपचार नभएकाले पनि होला जाँच गर्दिन भन्ने जमात पनि बढ्दो छ ।’

भुसको आगो जसरी फैलन सक्छ

जनस्वास्थ्य विज्ञ डा. नवराज सुब्बा कोरोना परीक्षण गर्न इन्कार गरेको अवस्थामा समाजमा भुसको आगोजसरी कोरोना फैलन सक्ने बताउँछन् । ‘व्यक्तिबाट परिवार हुँदै समाजमा पुग्छ,’ उनी भन्छन्, ‘भुषका आगोजस्तै फैलिएर जोखिम निम्त्याउन सक्छ ।’

संक्रमितलाई समाजले गर्ने व्यवहार परिवर्तन नभएका कारण परीक्षण गर्न नमान्नेहरु बढेको उनको तर्क छ । ‘हाम्रो समाजको व्यवहार परिवर्तन गर्नुपर्छ,’ उनी भन्छन्, ‘हेला गर्ने प्रवृत्ति अन्त्य गरे मानिस खुलेर जाँच गर्न आउँछन् ।’ सरकारले आफ्नो क्षमताअनुसार काम गरिरहेको बताउँदै उनले निजी क्षेत्र र नागरिकले राज्यलाई सहयोग गर्नुपर्ने बताउँछन् ।

Loading...