‘मेरी मामु’ निर्देशकको फिल्ममा आमाको भूमिकामा श्वेता अनुबन्धित

विराटनगर, १७ भदौ । करिब दुई वर्षपछि अभिनेत्री श्वेता खड्का फिल्ममा अनुबन्धित भएकी छन् ।

‘हुर्रे’, ‘मेरी मामु’ र ‘राज्जा रानी’ निर्देशन गरिसकेका यम थापाको निर्देशनमा बन्ने नयाँ फिल्ममा श्वेताले काम गर्न लागेकी हुन् । फिल्ममा उनी आमाको भूमिका निर्वाह गर्न लागेको बताइएको छ । निर्देशक थापा स्वयम्को कथामा निर्माण हुने फिल्ममा श्वेताले आफूले निर्वाह गर्न लागेको भूमिकाको बारेमा प्रष्ट खुलाएकी छैनन् ।

फिल्मले आमा र छोरीको भावनात्मक सम्बन्धलाई देखाउने छ । श्वेताले कथा राम्रो लागेपछि काम गर्नका लागि सहमति जनाएको बताउँदै कोरोना महामारीपछि यही फिल्म गर्ने बताएकी छिन् । निर्देशक थापा आफ्नो नाम नराखिएको नयाँ फिल्ममा छोरीको भूमिकामा बाल कलाकार सेड्रिना शर्मालाई अफर गर्ने सोचमा रहेका छन् ।

आफैं फिल्म निर्माणमा जुटेकी स्वेताले पछिल्लो दुइ वर्षयता फिल्ममा अभिनय गरेकी छैनन् । आफैंले निर्माण गरेको फिल्म ‘कान्छी’ पछि निर्देशक एभरेष्ट सूर्य बोहराको ‘हेल्लो जिन्दगी’ साइन गरेकी थिइन् । तर, घाँटीमा ट्यूमर देखिएपछि यो फिल्म पूरा गर्न सकिनन् । थापाको फिल्म गरेपछि आफ्नै प्रोडक्सन हाउसबाट नयाँ फिल्म निर्माण गर्ने श्वेताको योजना रहेको छ ।

Loading...