यस्ता छन् कपालको वृद्धिका लागि केही प्रभावकारी घरेलु उपाय

विराटनगर, १७ भदौ । पहिला कपाल झर्ने समस्यालाई बुढेसकालको संकेतको रूप लिइन्थ्यो तर, व्यस्त जीवनशैलीका कारण कपाल झर्ने समस्या कम उमेरका धेरै मानिसहरूको चिन्ताको कारण भएको छ ।

औषधि, हर्मोनल असन्तुलन, भोजनको प्रकार, तनावलगायत कपाल झर्ने विभिन्न कारणहरू छन् । हानिकारक परिणामहरूबारे सचेत हुँदाहुँदै पनि कपाल झर्ने समस्याका लागि तत्काल रासायनिक उपाय खोज्छौं । तर, कुनै साइड इफेक्ट नहुने र नतिजा लामो समयसम्म दिगो हुने हुँदा प्राकृतिक उपचार गर्नु नै कपाल झर्ने समस्याहरूका लागि उत्तम समाधान हो ।

कपालको वृद्धिका लागि प्यारीको रस सबैभन्दा प्रभावकारी र सबैभन्दा पुरानो उपायमध्ये एक हो । प्याजमा हुने सल्फरले टिस्युहरूमा कोलेजेन उत्पादन बढाउँछ र कपालको पुनः वृद्धिमा सहयोग गर्छ । यसको कडा गन्धका कारण धेरैले यसको प्रयोग गर्न रुचाउँदैनन् तर, कपाल धोएपछि गन्ध पनि आफैं हटेर जाने हुन्छ ।

त्यस्तै, प्राकृतिक कपालको वृद्धिका लागि सबैभन्दा प्रभावकारी उपचार भनेको नरिवलको दुधको प्रयोग पनि हो । नरिवलको दुधमा फलाम, पोटासियम र आवश्यक बोसोयुक्त पदार्थहरू पाइन्छ । यसमा आधा कागतिको रस, केही थोपा ल्याभेन्डरको तेल मिसाएर स्क्याल्पमा लगाउनु पर्छ । ४ देखि ५ घण्टासम्म छोडेर कपाल धुनु पर्छ ।

छिटो र प्राकृतिक कपाल विकासका लागि अण्डाको मास्कको प्रयोग गरिन्छ । अण्डामा उच्चस्तरको प्रोटिन हुन्छ जसले नयाँ कपालको निर्माणमा सहयोग गर्छ । यो सल्फर, जिंक, फलाम, सेलेनियम, फास्फोरस र आयोडिनमा पनि धनी हुन्छ । अण्डाको मास्कका लागि, एउटा अण्डाको सेतो भागमा एक चम्मच जैतुनको तेल र मह मिसाएर कपाल र टाउकोको वरिपरि करिब २० मिनेटका लागि लगाएर चिसो पानी र स्याम्पु कपाल धुनु पर्छ ।

मेथी पनि कपालको समस्याहरूका लागि पुरानो औषधि हो । एक चम्चा मेथीलाई पिसेर त्यसमा थोरै नरिवल तेल (वा दूध) मिसाएर आफ्नो कपाल र टाउकोमा आधा घण्टाको लागि लगाई हल्का स्याम्पुले कपाल धुनुपर्छ । यसले कपालको वृद्धिमा मद्दत गर्नुका साथै कपालको प्राकृतिक रङलाई पनि सुरक्षित राख्छ । भिटामिन सीले भरिएको अमलाको प्रयोगले पनि कपालको वृद्धि गर्छ ।

दुई चम्चा अमलाको पाउडर वा जुसको बराबर मात्रामा कागतीको रस मिलाएर कपालमा सुकुन्जेल लगाएर न्यानो पानीले कपाललाई धुनु पर्छ । यसले कपाललाई सेतो हुनबाट पनि रोक्छ । साथै, प्रयोग गरिएको ग्रिन टीका ब्यागहरूले पनि कपालको विकासमा मद्दत पु¥याउन सक्छ । एन्टिअक्सिडन्टहरूमा धनी हुने ग्रिन टीले कपाल बढाउन र कपाल झर्न रोक्छ । प्रयोग गरिएको टी ब्यागलाई टाउकोमा मसाज गरी एक घण्टाका लागि छाडेर चिसो पानीले धुनुपर्छ ।

Loading...