लकडाउनमा बढ्यो चिन्ता र रिस

विराटनगर, १७ भदौ । कोरोना भाइरसको महामारी र यसको जोखिम कम गर्नका लागि गरिएको लकडाउनले धेरै व्यक्तिहरूको मानसिक स्वास्थ्यमा धेरै प्रभाव पारेको छ ।

तीन सय १० जना मानिसहरूमा गरिएको सर्वेक्षणका अनुसार उनीहरूमध्ये अधिकांशले चिन्तित महसुस गर्ने गरेको पाइएको छ । अधिकांश दिनमा ३६.२८ प्रतिशतले चिन्ता तथा ३६.५९ ले बिना कारण रिस महसुस गर्ने गरेका छन् भने ८ प्रतिशतले मात्र लकडाउनका कारण शान्त महसुस गरेको बताएका छन् । जब कि १८ प्रतिशतले उनीहरूको समग्रमा मुड परिवर्तन नभएको जनाएको छ ।

साथै, लकडाउन र बिग्रिएको निद्रा चक्रबीच स्पष्ट सम्बन्ध भेट्टाइएको छ । ३६ प्रतिशत व्यक्तिहरूमा प्रायः सुत्ने समस्या भएको देखियो भने ३७ प्रतिशतभन्दा बढीले आफू राम्ररी सुत्न नसक्ने बताए । तीमध्ये जम्मा २५ प्रतिशतले मात्र उनीहरूलाई सुत्न केही पनि समस्या नभएको जनाए । सामाजिक दुरी उपायहरूको कारण, सामाजिक कुराकानीहरू र प्रियजनहरूसँग कुराकानीहरू अनलाइनमा सीमित भएका छन् ।

४१ प्रतिशतभन्दा बढी मानिसहरूले भिडियो र भ्वाइस कलमार्फत् सामाजिक अन्तक्र्रियाका लागि समय र शक्ति खर्च गर्न मन नलागेको बताए । घरदेखि काम गर्ने मानिसहरूमा ध्यान र एकाग्रता कम हुँदै गएको छ । ५५ प्रतिशतभन्दा बढी मानिसहरूले आफ्नो काममा ध्यान केन्द्रित गर्न समस्या भएको सहमति जनाएका छन् । तर, अझै पनि ४५ प्रतिशतले आफ्नो अफिसको काम र घरका कामहरू व्यवस्थापन गर्न सकिरहेका छन् ।

१८ प्रतिशत मानिसहरूले कुनै शोखको काम गर्न वा सुत्न फुर्सद नभएको स्वीकार गरेका छन् । त्यस्तै, ५१ प्रतिशतले टिभी श्रृंखला हेर्न वा मनपर्ने पुस्तक पढेर रमाइलो गरे, २३ प्रतिशतले खाली समयमा आराम गर्ने वा सुत्ने गरेका थिए भने ६ प्रतिशत मानिसहरूले खाली समयमा भान्छामा केही नयाँ कुरा गर्न सिकेका छन् ।

Loading...