छोराको भविष्य तय गर्न मेस्सी बुबा बार्सिलोनामा

एजेन्सी, १७ भदौ । अर्जेन्टिनी स्टार लियोनल मेस्सीका बुबा जर्ज मेस्सी र बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउबीच भेटघाट हुने भएको छ । बुधबार नै मेस्सीका बुबा अध्यक्ष बार्टोमेउसँग भेट गर्नका लागि बार्सिलोना आइपुगेका हुन् ।

उनी बुधबार बिहान मात्र बार्सिलोनास्थित एल पार्ट एयरपोर्टमा देखिएका थिए । एयरपोर्टमा पत्रकारको प्रश्नमा उनले आफूलाई केही पनि थाहा नभएको जवाफ फर्काएका थिए ।

बार्सिलोनाका कप्तान मेस्सीको सरुवाको विषयमा मेस्सीको भविष्यको विषयमा जर्ज मेस्सीले कुराकानी गर्ने बताइएको छ । मेस्सीका एजेन्टसमेत रहेका जर्ज मेस्सीले अध्यक्ष बार्टोमेउसँग पछिल्ला घटनाक्रमका बारेमा छलफल गर्ने बताइएको छ ।

यसैगरी, बार्सिलोनाका अध्यक्ष बार्टोमेउ पनि मेस्सीका बुबासँग अर्जेन्टिनी स्टारलाई नयाँ अफर गर्ने योजनामा छन् । खबरका अनुसार सर्वाधिक छ पटकका बालोन डी‘ओर विजेता मेस्सीसँग बार्सिलोनाले २०२२ सम्म सम्झौता नवीकरण गर्ने योजना बनाएको छ ।

३३ वर्षीय मेस्सीले एक साताअघि क्लब छोड्ने जानकारी बार्सिलोनालाई गराएका थिए । मेस्सीले बार्सिलोनाबाट निरन्तरता नदिने भन्दै यसै समरमा क्लब छोड्ने वातावरण मिलाइदिन बोर्डसँग प्रस्ताव राखेका थिए ।

तथापि, बार्सिलोनाले भने उनको प्रस्ताव अस्वीकार गरेको जनाइएको छ । तर, प्रि–सिजनको तयारीमा रहेको बार्सिलोनाको प्रशिक्षणमा पनि अनुपस्थित भएपछि मेस्सीले क्लब छोड्ने सम्भावना बढेको देखिएको छ ।

मेस्सी र बार्सिलोनाबीचको सम्झौता आगामी सिजनमा मात्र सकिन्छ । बार्सिलोना सोहीअनुसार मेस्सीलाई अन्य क्लबले किन्न ७०० मिलियन युरो तिर्नुपर्ने शर्त रहेको मान्छ । मेस्सीको ७०० मिलियन युरोको रिलिज क्लज कायम रहेकाले अहिले पनि सो रकमेबिना उनले क्लब छाडेर जान नपाउने ला लिगाले समेत जनाएको छ ।

मेस्सीले फ्री ट्रान्सफर र बार्सिलोनाको अनुमतिबिना बार्सिलोना छोड्ने नपाउने भएका छन् । तर, ७ सय मिलियन युरो रिलिज क्लज तिर्न सफल भएमा मेस्सीले बार्सिलोनाको सहमतिबिना पनि क्लब छोड्न पाउने छन् ।

उनलाई अनुबन्ध गर्नका लागि इंग्लिस क्लब म्यानचेस्टर सिटी अग्रपंक्तिमा देखिएको छ भने फ्रेन्च क्लब पीएसजी र इटालियन क्लब इन्टर मिलान पनि उनलाई भित्र्याउने दौडमा छन् । त्यसबाहेक इटालियन क्लब युभेन्टसले पनि इच्छा देखाएको चर्चा छ ।

Loading...