पहिरोपीडितको पीडा : ‘टहराको बास र थापेको गाँसमा चल्दै छ सास’

म्याग्दी, १७ भदौ । पहिरोले घरखेत लगेपछि म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका बासिन्दाको बिचल्ली भएको छ । उनीहरूलाई सबैभन्दा ठूलो चिन्ता बासको छ । ‘टहराको बास र थापेको गाँसमा चल्दै छ सास,’ ४७ वर्षीया चनमति लामगाडेले भनिन्, ‘अब कहाँ बस्ने, के खाने थाहा छैन ।’

‘गत असार २५ गतेको रातलाई सम्झँदा पनि मन भक्कानिन्छ, कसैले नसोधिदिए हुन्थ्यो नि जस्तो लाग्छ,’ त्यो राति आएको पहिरोमा चार सन्तान गुमाएकी चनमतिले भनिन्, ‘चार सन्तानको सास त दैवले चुँड्यो, बाँकी बचेका चारजनाको टहराको बास र थापेको गाँसमा चल्दै छ सास ।’

म्याग्दी समाज न्यूयोर्क अमेरिकाले बाढीपहिरो पीडितलाई पठाएको सहयोग रकम बुझ्न आइतबार मराङको बेसीमा आएकी चनमतिले ५० हजार सहयोग रकम बुझेपछि भनिन्, ‘त्यो रात सँम्झदा मुटु भक्कानिन्छ, रिँगटा लाग्छ, मर्छुजस्तै हुन्छ तर श्रीमान्को मुख हेर्न जसोतसो बाचुँजस्तो लाग्छ हजुर ।’ चनमतिका श्रीमान् वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । घरमा रहेका २६ वर्षीया बुहारी सपना लामगाडे, सात वर्षीय नाति आशिस र चार वर्षीय आयुष तथा तीन वर्षीया नातिनी आयुषालाई पहिरोमा गुमाएकी चनमति अहिले बिचल्लीमा परेकी छन् ।

गत असार २५ गतेको मध्यरात । आकाशबाट मुसलधारे पानी पर्न थाल्यो । गोठमा बाँधेका गाईबस्तु कराउन थाले । मस्त निद्राबाट बिउँझेकी चनमति गोठमा पुग्दा माथिबाट आएको पहिरोले गोठ भत्किएको थियो । दाम्लो फुकाएर गाईबस्तुलाई गोठबाट उत्तरतर्फको सुरक्षित स्थानमा लैजाँदै गर्दा पहिरो घरमाथि नै आइपुग्यो । मध्यरातको अँध्यारोमा हेर्दाहेर्दै पहिरोले घर पु¥यो । घरभित्र रहेका चारजना सदस्य पुरिए । यो सबै यति छिटो भयो कि चनमतिले केही सोच्नै भ्याइनन् ।

धवलागिरी गाउँपालिका–६ मराङमा सो राति आएको पहिरोले चनमति परिवारका चार सदस्यसँगै सोही गाउँका १९ जनाले ज्यान गुमाएका थिए । पहिरोमा परी १२ जना घाइते र दुईजना अझै बेपत्ता छन् । एकै घरका चारजना सदस्य पहिरोमा परेर ज्यान गुमाएकी चनमति मात्रै होइन, गाउँकै अर्की राजमति सिर्पाली पनि छिन् । उनको परिवारका चारजना सदस्यले पनि पहिरोमा परी ज्यान गुमाएका छन् ।

जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा मराङमा पहिरोले ७२ घरमा पूर्ण क्षति भएको छ भने गाउँमा बस्ने अवस्था छैन । विस्थापितले सुरक्षित स्थानमा पुनर्वासको माग गरेका छन् । पहिरो गएको ५२ दिन बितिसक्दा पनि मराङका पहिरोपीडितका लागि पुनर्वासको उचित प्रबन्ध हुन सकेका छैन । चनमतिलगायतका कतिपय पहिरोपीडित पालमा रात कटाउन बाध्य छन् । खानका लागि विभिन्न संघसंस्था र व्यक्तिले सहयोग गरे पनि बस्ने वासस्थानको अभावमा उनीहरुले असुरक्षित महसुस गरिरहेका छन् ।

‘पहिरोपीडितका लागि एकीकृत पुनर्वासको व्यवस्था गर्ने कि अलगअलग ठाउँमा राख्ने भन्ने कुरामा नै अन्योल देखिएको छ,’ सो वडाका अध्यक्ष राजाराम सुवेदीले भने, ‘कतिपय पहिरोपीडितको घडेरीसमेत नभएकाले एकीकृत पुनर्वासको अवधारण ल्याइए पनि त्यसको कार्यान्वनमा समस्या देखिएको छ ।’ उनका अनुसार कतिपयले आफ्नै घडेरीमा बस्न चाहेकाले समस्या आएको छ । घडेरी नभएकाका लागि उचित स्थानको खोजी भइरहेको छ ।

त्यसैगरी सोही पहिरोमा २४ वर्षीय छोरा मनबहादुर, २३ वर्षीया बुहारी कमला, सात वर्षीया नातिनी सुरक्षा र दुई वर्षीय नाति सुरज गरी चार सन्तान गुमाएकी ४६ वर्षीया राजमति सिर्पाली अहिले पहिरोमा घाइते भएकी माइली बुहारीको उपचारका लागि पोखरामा छिन् । राजमतिको गाउँमा फर्किने अवस्था नै नरहेको स्थानीयवासीको भनाइ छ । पहिरोले घर र खेतबारी सबै पुरिएपछि अहिले उनी पोखरामा नै बसेको वडाध्यक्ष सुवेदीले बताए ।

पहिरोमा परी मृत्यु भएका अन्य ११ जना परिवारको अवस्था पनि दयनीय छ । कसैले बुबा गुमाएका छन् भने कसैले छोरा÷बुहारी र नाति÷नातिनी । कैयौं परिवार विस्थापित भएका छन् । पूर्ण क्षति भएका ७२ घर परिवार अस्थायी टहरो, आफन्त वा सार्वजनिक स्थानमा बस्न बाध्य भएका छन् ।

जोखिमपूर्ण यात्रा : पाइला-पाइलामा खतरा

पहिरोका कारण विमको तल्लो बेसीदेखि मराङको बेसी गाउँ पुग्ने सडक नष्ट भएको छ । ठाउँठाउँमा आएको पहिरोले ज्यान नै हत्केलामा राखेर यात्रा गर्नुपर्ने अवस्था रहेको पहिरो पीडितको भनाइ छ । ‘ज्यान नै हत्केलामा राखेर पाइला पाइलामा जोखिम मोल्दै यात्रा गर्नुपर्ने अवस्था रहेछ,’ मराङका पहिरो पीडितलाई नौ लाख ३० हजार सहयोग रकम प्रदान गर्दै म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पूर्णवहादुर पुनले भने, ‘हामी एक दिन आउनेलाई त यस्तो सास्ती छ, सधैंभरि ओहोरदोहोर गरिरहनु पर्ने तपाईहरुलाई कति समस्या होला ।’

वडाध्यक्ष सुवेदीले बाटो मर्मतका लागि सानो रकमले नपुग्ने भन्दै यसका लागि प्रदेश सरकारसँग अनुरोध गरिएको बताए । ‘हाम्रो बजेटले सम्भव नै छैन, प्रदेश र संघीय सरकारले ध्यान दिन आवश्यक छ,’ उनले भने । रासस

Loading...