काठमाडौं उपत्यकाभित्र समुदायस्तरमा नै कोरोना संक्रमण फैलिसकेको छ : डा. पाण्डे

काठमाडौं, १७ भदौ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले काठमाडौं उपत्यकाभित्र समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिसकेको बताएका छन् ।

संक्रामक रोग विशेषज्ञसमेत रहेका डाक्टर बासुदेव पाण्डेले उपत्यकामा भाइरसको संक्रमण सानो रूपमा समुदायमै फैलिसकेकाले संक्रमितको संख्या बढेको बताएका हुन् ।

काठमाडौं उपत्यकासहित घना बस्ती भएका शहरहरूमा समुदायमा संक्रमण पुगिसकेको डा पाण्डेको भनाइ छ । त्यसैले कन्ट्याक्ट ट्रेसिङलाई अझ बढी व्यवस्थित बनाएर जोखिम क्षेत्र पहिचान गरी संक्रमण नियन्त्रण गर्नुपर्ने उनको सुझाव छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो छ । मंगलबार मात्र काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौँमा तीन सय ९३ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ३० जना गरी जम्मा ४८१ जनामा संक्रमण पुष्टि भएको थियो । यो संख्या अहिलेसम्मकै उच्च हो ।

Loading...