विराटनगरको आपराधिक समूह : व्यापारीलाई पेस्तोल देखाएर फिरौती मागे, साहुको घरबाट ११ लाख चोरी गरे

विराटनगर, १७ भदौ । दुईजना व्यापारीलाई पेस्तोल देखाएर फिराैती मागेकाे आरोपमा मोरङ प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।

पेस्तोल देखाएर फिरौती असुल तथा चाेरी गरेको आरोपमा भारत बिहार सीतामणि घर भई विराटनगर जलजला मोडमा रहेको चाइना बजारमा काम गर्ने २७ वर्षीय राजु साह, कटहरी गाउँपालिका–२, आदर्शनगरका २६ वर्षीय किसन साह, सोही ठाउँका २८ वर्षीय रविन शर्मा, २७ वर्षीय अभिषेक राय र सप्तरी बाेदेबर्साइन–८ का ७ घर भई विराटनगर कञ्चनबारी बस्दै आएका नन्दकिशोर साहलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुले विराटनगरका दुई व्यापारीसँग १०–१० लाख फिरौती मागेको थिए । पछिल्लो समय चाइना बजार सञ्चालक नरेश साहको घरबाट ११ लाख चोरी गरेको थियो । पक्राउ परेकामध्ये भारतीय नागरिक साह चाइना बजारका कामदार हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार ज्यान मार्ने धम्की दिएर फिरौती माग गरिएका दुई व्यापारीमध्ये एक व्यापारीले पाँच लाख बुझाएका थिए ।

आपराधिक समूहले गत २५ असार र १३ साउनमा छुट्टाछुट्टै व्यक्तिसँग फिरौती मागेका थिए । २५ असारमा फिरौती माग गरेका व्यापारीले विराटनगर गुद्री बजारमा एक लाख र कञ्चनबारी चोकमा चार लाख फिरौती बुझाएका थिए । अर्का व्यापारीमाथि १० लाख नदिए ज्यान मार्ने धम्की आएपछि प्रहरीलाई सूचना दिएका थिए ।

सोही समूहले पछिल्लो समय १५ भदौमा चाइना बजार सञ्चालक नरेश साहको घरबाट ११ लाख चोरी गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

व्यापारीबाट फिरौतीको रुपमा पाएको रकम सो समूहले बाँडेको थियो । साहको घरबाट चोरी भएको रकम भने बैंकमा राखेका छन् । बैंकबाट रकम फिर्ता गराउने प्रक्रिया सुरु गरिएको खड्काले जानकारी दिए ।

धम्की दिन फायर, तीन राउन्ड गोली भेटियो

प्रहरीका अनुसार आपराधिक समूहले पेस्तोल देखाएर धम्की दिँदै आएको थियो । भारतबाट अटोमेटिक पेस्तोल र छ राउन्ड गोली किनेको समूहले तीन राउन्ड गोली भने पड्काएको छ ।

प्रहरी उपरीक्षक खड्काका अनुसार फिरौती माग गरेको घरमा गोली पड्काएका हुन् । ‘फिरौती मागेको घरमा पेस्तोल फायर गरेका थिए, एउटा घरको पर्खालमा गोली लागेको डोब पनि छ,’ प्रहरी उपरीक्षक खड्काले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीले आपराधिक समूहको साथबाट एक थान अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने तीन राउन्ड गोलीसहित नगद ९७ हजार रुपैयाँ, १६ थान मोबाइल, कोटक महेन्द्रा नाम लेखिएको भारतीय बैंकको चेक दुई थान, तीनवटा मोटरसाइकल र एक थान चक्कु बरामद गरेको छ ।

‘पैसा नदिए ज्यान मार्नेसम्मको धम्की पनि दिइरहेको पाइयो,’ उनले भने, ‘लुटपाट र चोरी पनि बढेको पाइएपछि विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।’ एसपी खड्काले गिरोहका मुख्य नाइके अभिषेक रहेको र हतियार देखाउँदै त्रसित बनाएर व्यापारीसँग रकम असुल्ने धन्दा उनकै योजनामा चलाइएको बताए ।

प्रहरीले एलेक्स भनिने रविनको घरबाट एउटा पेस्तोल र तीन राउन्ड गोली पनि बरामद गरेको छ । प्रहरीले धम्की खेपेका र गिरोहलाई रकम बुझाउन बाध्य भएका व्यापारीको पहिचान भने गोप्य राखेको छ ।

पक्राउ पर्नेमध्ये नन्दकिशोरको डेराबाट भारतीय र नेपाली रुपैयाँ गरेर ९७ हजार एक सय २० रुपैयाँ प्रहरीले बरामद गरेको छ । जसमा ४९ हजार चार सय ५० भारतीय रुपैयाँ रहेको एसपी खड्काले बताए । रकम असुल्न प्रयोग गरिने को३२प ७५२५, को१५प २३१५ र को३६प २७६२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको उनले बताए ।

Loading...