आपराधिक समूह हतियारसहित पक्राउ

विराटनगर, १७ भदौ । विराटनगरका व्यापारीहरुलाई धम्क्याएर रकम असुल्दै आएको आपराधिक समूहका पाँचजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

मोरङ प्रहरीले मंगलबार साँझ कटहरी गाउँपालिका–२, आदर्श टोलस्थित एलेक्स भनिने रविन शर्माको घरबाट एक थान पेस्तोल र तीन थान गोलीसमेत बरामद गरेको छ । विभिन्न घटनामा संलग्न आपराधिक समूहका सदस्यहरुलाई मोरङका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त समूहले व्यापारीहरुलाई हतियार देखाई ज्यान मार्ने धम्की दिएर पैसा असुल्ने र विराटनगर क्षेत्रमा चोरी तथा लुटपाट गर्दैै आएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत बिहार सितामणि घर भई विराटनगर जलजला मोडमा कपडा पसलमा काम गर्ने वर्ष २७ को राजु साह, कटहरी गाउँपालिका–२, आदर्शनगरका २६ वर्षीय किसन साह, सोही ठाउँका २८ वर्षीय रविन शर्मा, २७ वर्षीय अभिषेक राय र सप्तरी बेदेबर्साइन–८ का २७ वर्षीय नन्दकिशोर साह छन् ।

प्रहरीले उनीहरुको साथबाट नगद ९७ हजार, अटोमेटिक पेस्तोल एक थान र त्यसको गोली तीन थान, १६ थान मोबाइल, कोटक महेन्द्रा नामको भारतीय बैंकको चेक दुई थान, तीनवटा मोटरसाइकल र एक थान चक्कु बरामद गरेको छ ।

Loading...