विराटनगरमा पीसीआर मेसिन थपियो, तर बढेन परीक्षण

मेयरको दाबी : संक्रमण दर घट्यो

विराटनगर, १७ भदौ । समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमाा कोरोना जाँचका लागि नयाँ मेसिन थपिए पनि परीक्षणको दर घटेको छ ।

महानगरपालिकाका मेयर भीम पराजुलीले कोरोना जाँचमा प्रदेश र संघीय सरकारले असहयोग गरेको गुनासो गरेपछि विराटनगरको निजी क्षेत्रले पीसीआर मेसिन खरिद गरेर उपलब्ध गराएको थियो । नयाँ पीसीआर मेसिन जडान भए पनि परीक्षण दर भने घटेको हो ।

८ भदौमा निजी क्षेत्रले पीसीआर मेसिन उपलब्ध गराएपछि सोही दिन महानगरपालिकाले जडानका लागि कोशी अस्पताल विराटनगरमा पठाएको थियो ।

मेसिनमा ९ गतेबाट परीक्षण सुरु भएको थियो । तर समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमा परीक्षण दर दैनिक घट्दो छ ।

८ भदौसम्म विराटनगर महानगरपालिका आफैंले छ हजार ११० जनाको पीसीआर जाँचका लागि नमुना संकलन गरेको थियो । १६ भदौसम्म महानगरले जम्मा सात हजार ४९ जनाको पीसीआर जाँचका लागि स्वाब संकलन गरेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।

पछिल्लो आठ दिनमा विराटनगर महानगरपालिकाले नौ सय ३९ जनाको नमुना संकलन गरेको छ । कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सिधै सम्पर्क गरेर परीक्षण गर्नेको विवरण महानगरपालिकासँग छैन ।

महानगरको नमुना संकलन कम भएका कारण पछिल्लो समय विराटनगरमा संक्रमण दर पनि कम भएको देखिन्छ । मंगलबारसम्म विराटनगरमा संक्रमितको संख्या १०३० छ । पछिल्लो एकसातामा विराटनगरमा ८५५ जना कोरोना संक्रमित थपिएका छन् । विराटनगरका संक्रमितमध्ये ११ जनाको मृत्यु भइसकेको छ ।

मेयर भन्छन् : विराटनगरमा संक्रमण दर घट्यो

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली महानगरभित्र कोरोना संक्रमण दर घटेको बताउँछन् । संक्रमण दर घटेका कारण परीक्षण कम देखिएको उनले बताए ।

‘विराटनगरमा संक्रमण दर घट्दो छ,’ उनी भन्छन्, ‘कन्याट्याक ट्रेसिङ र शंकास्पद स्थानमा प्रतिनिधिमूलकरुपमा जाँच गर्दैछौं, अहिले संक्रमण दर घट्दै गएको छ ।’ उनका अनुसार संक्रमितसँग कन्ट्याक ट्रेसिङमा भएका सबै परीक्षणको दायरामा आउन मानिरहेका छैनन् ।

Loading...