Rumpum

Rumpum Advertisement

अस्ट्रेलियालाई फेसबुकको धम्की

अस्ट्रेलियालाई फेसबुकको धम्की

विराटनगर, १७ भदौ । अस्ट्रेलियाको संघीय सरकारले फेसबुक तथा गुगल जस्ता कम्पनीहरूले अस्ट्रेलियाली सञ्चारमाध्यमको समाचार सामग्री राखेबापत शुल्क तिर्नुपर्ने नयाँ कानुन ल्याउन गृहकार्य गरेको छ ।

तर त्यसकाविरुद्ध फेसबुकले भने अस्ट्रेलियाका प्रयोगकर्तालाई समाचार शेयर गर्न प्रतिबन्ध लगाउने धम्की दिएको छ। फेसबुक अस्ट्रेलिया तथा न्यूजिल्याण्डका प्रबन्ध निर्देशक विल इस्टनले एक वक्तव्य जारी गर्दै अस्ट्रेलियाले नयाँ कानुन ल्याएको खण्डमा अस्ट्रेलियाका प्रकाशक तथा प्रयोगकर्तालाई स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार शेयर गर्ने सुविधा बन्द गर्न बाध्य हुने जनाएका छन् ।

‘अस्ट्रेलियन कम्पिटिसन तथा कन्ज्युमर कमिशन’ (एसिसिसि) ले बनाइरहेको उक्त ड्राफ्ट विधेयकको प्रतिक्रियामा निर्देशक इस्टनले सो नीतिले सामाजिक सञ्जालले पत्रकारिताको प्रवर्द्धनका लागि खेलेको भूमिकालाई उपेक्षा गरिएको समेत बताएका छन् ।

अस्ट्रेलियन सरकारको उपभोक्ता हकहित तथा निष्पक्षता कायम गर्नका लागि बनेको नियमनकारी संस्था ‘अस्ट्रेलियन कम्पिटिसन एण्ड कन्ज्युमन कमिशन’ (एसिसिसि) ले प्रस्ताव गरेको उक्त विधेयकमा फेसबुक तथा गुगलजस्ता कम्पनीले अस्ट्रेलियाका मिडिया कम्पनीहरूसँग आपसी सहमती कायम गरेर मात्र मिडियाका सामग्री राख्न पाउने व्यवस्था छ ।

विभिन्न सामग्री प्रकासित गर्दा फेसबकु वा गुगलले नाफा आर्जन गरेको केही हिस्सा मिडिया कम्पनीहरूलाई दिनु पर्ने व्यवस्था नयाँ कानुनले गर्न लागेको हो । यस्तो व्यवस्था विश्वमै पहिलोपटक हुन लागेको हो ।

अस्ट्रेलियन सरकारले यो नीति अरू व्यवसायहरू जस्तै सामाजिक सञ्जालमा पनि लागू हुने बताएको छ । ट्रेजरर जोश फ्राइडेनबर्गले फेसबुकले दिएको प्रतिक्रियालाई धम्कीपूर्ण भएको बताए ।

त्यसैगरी एसिसिसिका अध्यक्ष रड सिम्सले धेरै अस्ट्रेलियनहरू सूचना तथा समाचारका लागि फेसबुकमा भर पर्ने तथ्यलाई मध्यनजर गर्दै फेसबुकको यो हस्तक्षेपलाई गलत भएको बताएका छन् ।