मेस्सी भित्र्याउने दौडमा युभेन्टस पनि

एजेन्सी, १७ भदौ । इटालियन च्याम्पियन युभेन्टस पनि बार्सिलोनाका स्टार लियोनल मेस्सी अनुबन्ध गर्ने दौडमा रहेको पछिल्लो क्लब बनेको छ । युरोपका शीर्ष तीन क्लबले इच्छा देखाएका मेस्सीलाई भित्र्याउने दौडमा युभेन्टस चौथो बनेको हो ।

इटालियन मिडियाका रिपोर्टअनुसार क्लबले अर्जेन्टिनी स्टार मेस्सीले युभेन्टसमा खेल्नसक्ने सम्भाव्यताबारे छलफल गरेको छ । ‘एल लार्गुएरो’का अनुसार युभेन्टसले मेस्सी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई एकसाथ खेलाउने योजना बनाएको छ ।

३३ वर्षीय मेस्सीले एक साताअघि क्लब छोड्ने जानकारी बार्सिलोनालाई गराएका थिए । मेस्सीले बार्सिलोनाबाट निरन्तरता नदिने भन्दै यसै समरमा क्लब छोड्ने वातावरण मिलाइदिन बोर्डसँग प्रस्ताव राखेका थिए ।

तथापि, बार्सिलोनाले भने उनको प्रस्ताव अस्वीकार गरेको जनाइएको छ । तर, प्रि–सिजनको तयारीमा रहेको बार्सिलोनाको प्रशिक्षणमा पनि अनुपस्थित भएपछि मेस्सीले क्लब छोड्ने सम्भावना बढेको देखिएको छ ।

मेस्सी र बार्सिलोनाबीचको सम्झौता आगामी सिजनमा मात्र सकिन्छ । बार्सिलोना सोहीअनुसार मेस्सीलाई अन्य क्लबले किन्न ७०० मिलियन युरो तिर्नुपर्ने शर्त रहेको मान्छ । मेस्सीको ७०० मिलियन युरोको रिलिज क्लज कायम रहेकाले अहिले पनि सो रकमेबिना उनले क्लब छाडेर जान नपाउने ला लिगाले समेत जनाएको छ ।

मेस्सीले फ्री ट्रान्सफर र बार्सिलोनाको अनुमतिबिना बार्सिलोना छोड्ने नपाउने भएका छन् । तर, ७ सय मिलियन युरो रिलिज क्लज तिर्न सफल भएमा मेस्सीले बार्सिलोनाको सहमतिबिना पनि क्लब छोड्न पाउने छन् ।

उनलाई अनुबन्ध गर्नका लागि इंग्लिस क्लब म्यानचेस्टर सिटी अग्रपंक्तिमा देखिएको छ भने फ्रेन्च क्लब पीएसजी र इटालियन क्लब इन्टर मिलान पनि उनलाई भित्र्याउने दौडमा छन् ।

यता, युभेन्टसले पनि मेस्सीमाथि इच्छा देखाएको छ । युभेन्टस आफ्नो टोली थप बलियो बनाउन मेस्सी अनुबन्ध गर्ने योजनामा रहेको विभिन्न स्रोतलाई उदृत गर्दै स्पेनिस मिडिया एएसले जनाएको छ ।

यसैगरी फ्रेन्च मिडिया एल–इक्युपेले पनि मेस्सी अनुबन्ध गर्न युभेन्टसले चाहना राखेको दाबी गरेको छ । उसका अनुसार युभेन्टसले मेस्सीको पछिल्लो अवस्थाका बारे जानकारी लिएको थियो ।

स्रोतलाई उदृत गर्दै एल–इक्युपेले मेस्सी र रोनाल्डोलाई एकसाथ खेलाउने सम्भावना बारे युभेन्टसमा छलफल भएको जनाएको छ ।

यद्यपि, युभेन्टसले मेस्सी भित्र्याउने सम्भावना कम छ । यसअघि नै युभेन्टसले महामारीका कारण रोनाल्डोलाई तलब दिन कठिन भएको भन्दै उनलाई किनिदिन बार्सिलोनालगायत केही क्लबलाई आग्रह गरेको बताइएको थियो ।

Loading...