लक्षणसहितका संक्रमितले नै पाउँदैनन् अस्पताल

विराटनगर, १७ भदौ । काभ्रेका रविन सेढाईंलाई कोरोना संक्रमण भएको भन्दै कुपण्डोलस्थित विध म्यानेजमेन्टले आइतबार सम्पर्क गर्यो । त्यसपछि उनी अलमलमा परे । काठमाडौंका विभिन्न अस्पताल धाए ।

तर, उनले शय्या पाउन सकेनन् । उनले भने, ‘संक्रमित भए पनि अस्पतालले भर्ना गर्नै मान्दैनन् । म पनि सोमबार दिनभरि भौतारिएँ ।’ उनले आफूसँगै संक्रमण पुष्टि भएका नौ जना सेल्फ आइसोलेसनमा बसेको बताए ।

काठमाडौंकी ५७ वर्षीया राधिका महर्जनलाई सोमबार कोरोना पुष्टि भयो । उनी घरमै सेल्फ आइसोलेसनमा बसेकी छन् । तर, उनलाई अक्सिजनको कमी भएपछि सास फेर्न गाह्रो भयो ।

विभिन्न अस्पताल चहार्दा समेत उनी भर्ना हुन पाएकी छैनन् । काठमाडौं उपत्यकासहित देशभरका केही अस्पतालले कोरोना भाइरस संक्रमण पुष्टि भएकालाई भर्ना गर्न आनाकानी गर्दा संक्रमितले समस्या भोग्नुपरिरहेको छ ।

पछिल्लो समयमा संक्रमणदर दिन प्रतिदिन बढ्दै गएको छ । लक्षणसहितका संक्रमित बढ्न थालेपछि चिकित्सकले व्यक्ति स्वयं सचेत र सजग रहन आग्रह गर्दै आएका छन् । भौतिक दुरी कायम गरेर आत्मानुशासनमा रहे कोरोनाबाट जोगिन सकिने चिकित्सकको भनाइ छ । आजको राजधानी दैनिकमा समाचार छ

Loading...