५० हजार टन युरिया पठाउन बङ्गलादेश सहमत

विराटनगर, १७ भदौ । नेपाल र बङ्गलादेशबीच कोरोना भाइरस (कोभिड–१९) को अहिलेको सङ्कटको समयमा पनि सहकार्य बलियो बनाएर अगाडि बढ्ने सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका बङ्गलादेशी समकक्षी शेख हसिना वाजेदबीच मङ्गलबार दुई देशका अत्यावश्यक विषयमा थप सहकार्य गर्ने सहमति भएको हो । प्रधानमन्त्री ओली र वाजेदबीच भएको टेलिफोन वार्तामा दुई देश बीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले हामीले दुई देशबीच व्यापार, ऊर्जा, पारवहन लगायत अन्य आवश्यकीय क्षेत्रलाई प्राथमिकता दिँदै सहकार्य वृद्धि गर्ने विषयमा जोड दियौँ भन्दै टेलिफोन वार्तामा भएका कुराकानीबारे उल्लेख गरे ।

विद्युत् उत्पादनमा सहयोग, ग्रिड कनेक्टिभिटी र नेपालबाट बङ्गलादेशलाई बिजुली आपूर्ति गर्नका साथै दुई देशबीच अवरोधरहित सन्तुलित व्यापारको प्रवद्र्धन, बङ्गलादेशको पारवहन सुविधामा सुधार, पर्यटन प्रवद्र्धन र अन्य विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ओलीले नेपालको कृषि बालीका लागि अत्यावश्यक वस्तुका रूपमा रहेको युरिया मल पठाउन नेपालले गरेको आग्रहलाई सकारात्मक रूपमा लिनुभएको बताए । साथै यस विषयमा बङ्गलादेशले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ ।

वार्ताका क्रममा पछि फिर्ता गर्ने शर्तका आधारमा ५० हजार टन युरिया मल पठाउन सहमति भएको छ । मल ढिला आउँदा नेपालको धान बालीलाई प्रतिकूल असर परिरहेको बेला नेपालका लागि यो ठूलो सहयोग हुनेछ ।

भारत लगायत सार्क मुलुकबाट आउने गरेको युरियासहित मलको आयात यसपटक कोरोना सङ्कटका कारण प्रभावित बनिरहेको छ । यस सिजनमा हुर्कदै गरेको धान बालीका लागि मल अत्यावश्यक पोषण हो ।

नेपाल र बङ्गलादेशबीच वाणिज्य र आर्थिक सम्बन्ध पछिल्लो समय फस्टाउँदै गएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशबीच व्यापार विस्तार र विविधीकरण गर्ने विशाल सम्भावना रहेकाले त्यस विषयमा दुई देशका सरकारबीच यस विषयमा सहकार्य गर्न पहलसमेत भइरहेको छ ।
नेपालबाट बङ्गलादेशमा पहेँलो दाल, तेल, अलैँची, गहुँ, तरकारीको बीउ, हस्तकलाका सामग्री, पस्मिना उत्पादन लगायतका वस्तु निर्यात हुन्छन् ।

बङ्गलादेशबाट औद्योगिक कच्चापदार्थ, रसायन, कपडा, जुट, विद्युतीय सामग्री नेपाल आउनेगर्छ । सन् १९९७ मा काँकरभिट्टा–फूलबारी–बङ्गलाबन्ध ट्रान्जिट मार्ग खोलिएपछि बङ्गलादेशले नेपाललाई मङ्गला बन्दरगाहको सुविधा उपभोग गर्न अनुमति दिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...