स्वारेज युभेन्टस नजिक

एजेन्सी, १६ भदौ । बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेज इटालियन क्लब युभेन्टस नजिक पुगेको बताइएको छ । इटालियन मिडिया ला गजेट्टा डेल्लोका अनुसार उरुग्वेका खेलाडी स्वारेज र युभेन्टस दुवै पक्षका प्रतिनिधिबीच भेटघाट भएको छ ।

स्वारेजका प्रतिनिधि र सिरी ‘ए’ च्याम्पियन क्लबका प्रतिनिधिबीचको यो भेटघाट दोस्रो पटक रहेको बताइएको छ । खबरका अनुसार दुवै पक्ष सकारात्मक रहेका छन् ।

बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानका कारण उरुग्वेका स्टार स्वारेज क्लब छोड्ने मनसायमा पुगेका छन् । बार्सिलोनाका लागि धेरै गोल गर्ने खेलाडीको सूचिमा तेस्रो स्थानमा रहेका स्वारेजले डच प्रशिक्षक कोइम्यानका कारण क्लब छोड्ने मनसाय बनाएको बताइएको छ ।

बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका कोइम्यानले फोन गरेर ६० सेकेण्ड गरेको कुराले स्वारेज निकै विचल्लित भएको बताइएको छ । कोइम्यानले स्वारेजलाई आफ्नो योजनामा नरहेको बताउँदै तत्काल विकल्प खोज्न भनेका थिए ।

स्वारेजले कोइम्यानको मुखबाट निस्किएका शब्दले आफू निकै दुखित भएको बताउँदै विकल्पको खोजीमा लागेको पनि बताएका थिए । खबरका अनुसार स्वारेज पनि इटालियन क्लब जान इच्छुक छन् ।

यता, युभेन्टसले पनि गोन्जालो हिगुइनको स्थानमा स्ट्राइकरको खोजी गरिरहेको छ । क्लबका प्रशिक्षक आन्द्रे पिर्लो हिगुइनको बहिर्गमनपछि स्ट्राइकरको खोजीमा छन् । हिगुइनले यसै सिजन युभेन्टस छोडेका हुन् ।

छ वर्ष क्याप नोउबाट खेलेका स्वारेजलाई युभेन्टसका उपाध्यक्ष पावेल नेदभेदले फोन गरेर दोस्रो भेटका लागि बोलाएका थिए ।

स्वारेज र बार्सिलोनाबीचको सम्झौता ३० जुन २०२१ सम्म छ । सन् २०१४ मा लिभरपुलबाट बार्सिलोना आएयता उनले २८३ खेल खेल्दै १९८ गोल गरेका छन् ।

स्वारेजले बार्सिलोनाबाट चार ला लिगा र एक च्याम्पियन्स लिगसहित १३ ठूला उपाधि जितेका छन् ।

Loading...