नेपालमा कोरोना भाइरस खोपको तेश्रो चरणको परीक्षण तत्कालै नहुने

विराटनगर, १६ भदौ । नेपालमा कोरोना भाइरस खोपको तेश्रो चरणको परीक्षण तत्कालै नहुने बताइएको छ ।

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले परीक्षणका लागि इच्छुक कम्पनीहरूलाई सुरुमा प्रस्ताव पठाएर नेपाललाई हुने फाइदाबारे छलफल गरेपछि मात्र यसबारै निर्णय लिइने जानकारी दिएका छन् ।

परीक्षणमा जानुअघि विभिन्न सर्तहरूबारे पनि गहन छलफल गर्नुपर्ने अवस्था रहेकाले निष्कर्षमा पुग्न समय लाग्नसक्ने बताइएको छ ।

परीक्षण सफल भएमा नेपालीले खोप किन्न पाउने या नपाउने कुरा, मानिसहरूमा खोपको नकारात्मक असर देखियो भने के गर्ने भन्ने कुराको टुङ्गो लगाउनु पर्ने हुन्छ ।

परीक्षणमा रहेका खोपहरू सहभागी मानिसहरूले नि:शुल्क पाउने, खोपका कारण कुनै नकारात्मक असर देखिए वा शारिरिक समस्या देखिएमा उपचार गर्नुपर्ने र वीमाको व्यवस्था समेत गरिनुपर्ने डा. झा बताउँछन् ।

केही दिनअघि मात्र चीनको खोप, ब्रिटेनको अर्क्सफोर्ड विश्वविद्यालयले बनाएको खोप र रुसको खोपको तेश्रो चरणको परीक्षण नेपालमा पनि गर्ने कुराकानी भइरहेको बताइएको थियो ।

तेश्रो चरणको परीक्षणमा रहेका खोप विकास गर्ने संस्था तयार भएमात्रै थप प्रक्रिया अघि बढ्ने छ । अहिलेसम्म चीनबाट मात्रै औपचारिक रूपमा पत्राचार गरिएको हुँदा आवश्यक वैज्ञानिक कागजपत्र माग गर्दै जवाफ पठाएको परिषद्ले जनाएको छ ।

Loading...